पत्रकार दबूको क्यालेन्डर सार्वजनिक
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ मङ्सिर ४, बिहिबार
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाले नेपाल सम्वत ११४७ नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
आज (बिहिवार) शंखधर दिवसको दिन शाखाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ने.सं. ११४७ क्यालेण्डर समेत सार्वजनिक गरिएको थियो ।
पत्रकार दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सचिव राजु नापित, बागमति प्रदेश समिति अध्यक्ष बिराजकाजी राजोपाध्याय, गोरखा जिल्ला अध्यक्ष हिरालाल श्रेष्ठलगायतले सामूहिक रुपमा क्यालेन्डरको लोकार्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै दबूका केन्द्रीय अध्यक्ष श्रेष्ठले नेवाः पत्रकारहरुको हकहितसँगै वर्तमान समयमा राज्यस्तरबाट पत्रकारहरुलाई भइरहेको विभेदपूर्ण व्यवहार, पत्रकारहरुलाई धरपकड लगायतका गतिविधिमा विरोधका कार्यक्रमहरु भइरहेको जानकारी दिए ।
दबूका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले दबूको प्रदेश संरचना र विदेश शाखा गठन भएपछि प्रदेश र विदेश संरचनाका प्रतिनिधिहरुसहित कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गरे ।
दबूका केन्द्रीय सल्लाहकार राजु शाक्यले आफुले राससमा नेपाल संवतको प्रयोग पूर्ण रुपमा गर्न खोजेको तर पछि गएर सम्वत मात्र प्रयोग भएको बताए ।
दबूका बागमती प्रदेश अध्यक्ष राजोपाध्यायले दबू जस्तो श्रमजिवी नेवाः पत्रकारहरुको संस्था अब आर्थिक रुपं सबल बन्ने र आफ्नै भवन निर्माण गर्ने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए ।
दबू काठमाडौं शाखाका अध्यष रत्नकाजी मनले जिल्ला शााखाले गर्दै आएको गतिविधि र नयाँ वर्षको क्यालेण्डरको विषयमा जानकारी दिए ।
दबू काठमाडौं जिल्लाका सदस्य साथै प्रकाशन कमिटीका संयोजक रबिन्द्र बज्राचार्यले दबूबाट पहिलो पटक क्यालेन्डर प्रकाशन भएको र चाँडै नै शाखाको मुखपत्रको रुपमा म्यागजिन प्रकाश हुन लागेको जानकारी दिए ।
कार्यक्रममा ललितपुर जिल्ला अध्यक्ष मञ्जु बज्राचार्य, गोरखा जिल्ला अध्यक्ष हेरालाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्त कुमार महर्जन, नेवाः देय् दबूका उपाध्यक्ष शान्त श्रेष्ठ, सचिवहरु सृजनमान श्रेष्ठ, हरिकुमार श्रेष्ठको उपस्थिती थियो ।
साथै पत्रकार दबू काठमाडौं शाखाका संस्थापक अध्यक्ष नातिकाजी महर्जन, दबूका ज्येष्ठ सदस्य दानदास श्रेष्ठ, वरिष्ठ कलाकार गणेश साय्मि, संस्कृतिविद् जितेन्द्र विलास बज्राचार्य लगायतको पनि उपस्थिती थियो ।
Categorized in समाज





