कामपा नीति तथा कार्यक्रम ३ – यसै वर्षमा महानगरपालिकाको आफ्नै भवन बनाइने
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ ४, बिहिबार

काठमाडौँ महानगरको स्वामित्वमा रहेको टेकुस्थित जग्गामा महानगरपालिकाको कार्यालय भवन यसै आर्थिक बर्षमा निर्माण कार्य शुरु गर्ने योजना बनाइएको छ ।
नेपाल सरकार, प्रदेश सरकार तथा अन्य सरोकारवाला संघसंस्था एवं ब्यक्तिहरुको सहयोग र समन्वयमा का.म.पा. ३२ तिनकुनेमा आधुनिक बुद्धपार्क निर्माण कार्य सुरु गर्ने योजना कामपाको यस वर्षको नीति तथा कार्यक्रममा राखिएको छ ।
स्थानीय मौलिकता झल्कने गरी घरको नयाँ निर्माण गर्न वा मोहडा परिवर्तन गर्न चाहनेहरुलाई आवश्यक मापदण्ड तयार गरी अनुदानको ब्यबस्था गर्ने कार्य सुरु गर्र्ने पनि कामपाले जनाएको छ ।
हनुमानढोकादेखि स्वयम्भू जोड्ने सम्पदा मार्ग तथा सवारी साधनमुक्त क्षेत्रमा परेका पुराना वस्तीका निजी भवनलाई व्यावसायिक आर्ट ग्यालरी, कफी सप, पुस्तक पसल, होमस्टे वा पर्यटनसँग सम्बन्धित व्यवसाय गर्ने उद्देश्यले परम्परागत शैलीमा पूरै भवन पुनर्निर्माण वा जीर्णोद्वार गर्न चाहने घरधनीहरुलाई कार्यविधिको आधारमा थप सहुलियत कर्जाको प्रबन्ध जस्ता कुरालाई पनि प्राथमिकतामा राखेको छ ।
त्यसैगरी नेपाल सरकार, प्रदेश सरकार समेतको सहयोग एवं समन्वयमा बहुउद्देश्यीय अत्याधुनिक मेगा हल सभागृह निर्माण गर्न यसै वर्ष डिपिआर तयार गर्ने पनि महानगरपालिकाले लक्ष्य लिएको छ ।
काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्नका लागि उपत्यका छिर्ने नाकाहरुमा सम्वन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लीनिङ सेन्टर निर्माण गर्न विस्तृत अध्ययन गर्ने पनि जनाएको छ । काठमाडौंको स्वच्छता र महानगरवासीको जनस्वास्थ्यलाई ध्यानमा राखी बिद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने नीति कामपाले लिएको छ ।
काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन सडक सुरक्षासँग सम्बन्धित पाँच रणनैतिक स्तम्भहरु (सडक सुरक्षा व्यबस्थापन, सुरक्षित सडक तथा गतिशिलता, सुरक्षित सवारी बाहन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटना पश्चातको प्रतिकार्य र कार्यवाही) मा आधारित मापदण्ड तयार गरी लागु गर्ने जस्ता कुरालाई पनि प्राथमिकतामा राखेको छ ।
एकीकृत वस्ती विकासको नीति
त्यसैगरी काठमाडौं महानगर क्षेत्रभित्रका भवनहरुको सबलता, सुरक्षा र जोखिम न्यूनीकरण गर्न प्रचलित भबन निर्माण सम्वन्धी मापदण्डमा समयानुकुल संशोधन गरि कार्यान्वयनमा ल्याउने भएको छ ।
‘हाल सञ्चालनमा रहेको मनोहरा जग्गा एकीकरण आयोजना अन्तर्गतको काठमाडौं महानगरपालिका क्षेत्रमा हुने भवन निर्माणलाई व्यवस्थित गर्न विशेष नीति र मापदण्ड जारी गरी सो क्षेत्रलाई नमुना वस्तीको रुपमा विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
काठमाडौंको भित्री सहरमा रहेका पुराना भवनहरुको जोखिमलाई न्यूनीकरण गर्न त्यस्ता भवनहरुको स्थानमा सुविधा सम्पन्न एकीकृत वस्ती विकास गर्ने नीति कामपाले लिएको छ ।
स्थानीय घरधनीहरुकोे सहमति र प्रत्यक्ष सहभागितामा र नेपाल सरकारका सम्बद्ध निकायहरुको आवश्यक सहयोग तथा समन्वयमा नमुना आवास क्षेत्रको विकास गर्ने कार्य काठमाडौ महानगरपालिका १८ वडा अन्तर्गतको किलांक्व दम्बोचुकबाट सुरु गर्ने भनिएको छ ।
सुरक्षित भवन निर्माण गर्न महानगरवासिलाई प्रोत्साहित गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिने नीतिलाई निरन्तरता दिइनेछ ।
Categorized in स्थानीय