संक्रमण निको हुनेको संख्या १४ सय नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ ५, शुक्रबार

नेपालमा कोरोना भाईरसलाई जितेर संक्रमण निको हुनेको संख्या १४ सय नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप २ सय १६ जना संक्रमित निको भएर विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् ।
उनीहरुमध्ये ९ जना महिला छन् भने २ सय ७ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार चार सय दुइ पुगेको छ ।
गोठगाउँ आइसोलेसन सेन्टर मोरङबाट भोजपुरका ४ जना, झापाका १२, मोरङका ९ र सुनसरीका १५ जना संक्रमणलाई जितेर घर फर्केका छन् ।
त्यसैगरी विराटनगरस्थित कोशी अस्पतालबाट झापाका ४ पुरुष, संखुवासभाका २ पुरुष, मोरङका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् ।
आइसोलेसन सेन्टर जानकी बाँकेबाट ४१ जना पुरुष र अल्पामाई नर्सिङ इन्स्टिच्यूट सर्लाहीबाट ४ जना महिला र ३५ जना पुरुष कोरोना भाइरसलाई हराउँदै डिस्चार्ज भए ।
कोभिड १९ अस्पताल सपही जनकपुरबाट धनुषाका एक महिला र ३७ पुरुष, धरहरी स्कूल धरहरी रौतहटबाट एक महिला र २९ पुरुष डिस्चार्ज भएका छन् ।
जलेश्वर अस्पताल महोत्तरीबाट ४ जना पुरुष, साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १३ पुरुष र
प्रादेशिक अस्पताल सुर्खेतबाट २ महिला र एक पुरुष डिस्चार्ज हुँदै घर फर्केका छन् ।
Categorized in समाज