गुल्मीका मृतकमा कोरोना संक्रमण पुष्टि
SamacharDesk – विकाश | २०७७ आषाढ ७, आइतबार

गुल्मी छत्रकोट गाउँपालिकामा गत शुक्रबार मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको गत असार ५ गते होम क्वारेन्टाइनमा बसिरहँदा मृत्यु भएको थियो ।
पारालाइसिसको उपचार गराउन भारत गएका उनी जेठ २५ गते आइतबार नेपाल फर्केका थिए ।
नेपाल फर्केर स्थानीय क्वारेन्टाइनमा बस्न नसक्ने भएपछि छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टाइनमा राखिएको थियो ।
होम क्वारेन्टिनमै बसिरहेका उनको असार ५ गते घरमै मृत्यु भएको थियो भने सोहि दिन उनको स्वाब नमूना संकलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।
हिजो ६ गते शनिबार आएको उनको परिक्षणको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृतकको शवलाई नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २३ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने प्रायको संक्रमण पुष्टि भने मृत्यु पछि मात्र भएको छ ।
Categorized in समाज