arin enterprises

रातो मछिन्द्रनाथको रथ बनाईँदै

SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ ११, बिहिबार

कोरोना महामारीको नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण रोकिएको रातो मछिन्द्रनाथ (मत्स्येन्द्रनाथ) अर्थात् करूणामय, बुंगद्यःको जात्राका लागि रथ निर्माण कार्य सुरू भएको छ ।

आज बिहान जावलाखेलबाट रथका पांग्राहरू तानेर ल्याई पुल्चोकमा रथको जग माथि राखिएको थियो। यससंगै रथ बनाउने कार्य सुचारू भएको हो ।

चैत्र २७ गते मछिन्द्रनाथको न्हवं अर्थात् महास्नान सम्पन्न भएलगत्तै पानेजुहरू लगनखेलबाट तःबहाल र त्यहाँबाट पूल्चोक पुगी रथ निर्माणको विधिवत् शुरुवात गरेका थिए ।

महास्नान पछि पानेजुहरु रथ निर्माण गर्ने ठाउँ पुल्चोक पुगी रथ बनाउन किल्ला ठोक्ने गर्छन् । यसैलाई रथ निर्माणको विधिवत् शुरुवातको रुपमा लिइन्छ । यसलाई स्थानीय भाषामा ‘की स्वायेगु’ भन्ने चलन छ ।

मंगलबार बाराही समाजले विज्ञप्ती जारी गर्दै रथ निर्माण हुने जनाएको थियो ।

यस अघि जेठ ९ गते ललितपुर महानगरपालिकामा सम्पूर्ण जातिय संगठन र सरोकारवाला संघसंस्था, समूहका प्रतिनिधिहरूबीच भएको बैठकबाट रथ निर्माण गर्ने निर्णय भएको थियो ।

रथ बनाउँदा काठको सम्पूर्ण कामहरू नेवार ‘बाराही’ समाजले गर्ने गर्दछन् भने वेतका लहराले कस्ने काम ‘यवाँल’ अर्थात डंगोलहरूले गर्छन् ।

परापूर्वकालमा गोरखनाथले उपत्यकाका सम्पूर्ण नागहरूलाई बाँधेर आफ्नो आसन बनाई श्लेषमान्तक वनमा तपस्या गर्दा १२ वर्षसम्म पानी नपरी अनिकाल भएको अनिकाल भएको किम्वदन्ति रहेको छ । 

गोरखनाथका गुरू मछिन्द्रनाथलाई कामारूकामाक्ष, आसामबाट लिच्छवी राजा मानदेव, तान्त्रिक वन्धुदत्त र ललित ज्यापु मिलेर उपत्यका ल्याएको र त्यसपछि आफ्ना गुरु दर्शन गर्न गोरखनाथ नागासनबाट उठेपछि पानी परेको जनश्रुति छ ।

विगतमा फुस्रो धान मात्र फल्ने गरेको नेपालमण्डलमा मच्छिन्द्रनाथको आगमन पछि उनैको कृपाले धानमा चामल पनि फल्न थालेको विश्वास समाजमा रहेको छ ।

यही कारणले रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका साथै अन्नका देवताका रूपमा पूजिन्छ । 

 

महामारीको अवस्थामा जात्रा गर्नु उचित होला त ?

मछिन्द्रनाथका पूजारी पानेजु हेमवज्र वज्राचार्यका अनुसार मछिन्द्रनाथलाई जात्रा नगरे वा खट जात्रा मात्र गरे मछिन्द्रनाथको आत्मा सदाका लागि यो भूमि छोडेर जाने धार्मिक विश्वास छ । 

सोही कारणले मच्छिन्द्रनाथको रथ जात्रा नै गर्नुपर्ने पक्षमा आफुहरू रहेको पानेजु बज्राचार्यले बताए ।

कतिपय व्यक्ति तथा समूह भने हालको परिस्थितिमा जात्रा गर्न नहुने पक्षमा देखिएका छन् । संक्रमितको संख्या बढ्दो दरमा रहेको अवस्थामा जात्रा गर्न नहुने विचारलाई गलत भन्न सकिने स्थिती छैन ।

फेरी यहाँ संक्रमण निको हुनेहरू पनि नभएको होइन । आजको मितिसम्म २ हजार ३ सय ३८ जनाले संक्रमणलाई जित्न सफल भइसके । तर मृत्यु हुनेहरूको संख्या पनि २४ जना पुगेको यथार्थ पनि हाम्रै बीच छ । 

झन पछिल्लो समय त काठमाडौं उपत्यका भित्रै निरन्तर जसो संक्रमित भेटिँदै गरेको अवस्था छ ।

त्यसमाथि झन् मोफसलबाट हजारौंको संख्यामा निरन्तर काठमाडौं भित्रिरहेका छन् र पछिल्लो समय बाहिरबाट उपत्यका भित्रिनेहरुमै संक्रमण देखिरहेको छ ।

यस्तो अवस्थामा उपत्यकामा निकै सतर्कता र सावधानी अपनाउनुपर्ने देखिन्छ । 

यस्तो समयमा यस किसिमको ठूलो जात्रा गर्दा समुदायमै संक्रमण फैलिने त होइन भन्ने शंका हुनु पनि स्वाभाविक नै हो ।

आस्था वा धार्मिक विश्वासकै भरमा मात्र जात्रा मनाईँदा भारतमा एक धार्मिक भेलाबाटै समुदायमा संक्रमण फैलिएको हामीले नजरअन्दाज गर्नुहुन्न ।

यी सब पक्षलाई मध्यनजर गर्दै केही सुरक्षाका उपाय अपनाइ जात्रा मनाउँदा सबैको हीतमा हुने देखिन्छ । 

जात्रा मनाइसकेर आफ्नो खुट्टामा आफैँले वन्चरो हान्न पुगेको अनुभव भने गर्न नपरोस् ।

फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोला

Categorized in संस्कृति