नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डको नोमिनेसन सार्वजनिक हुँदै
SamacharDesk – बिराज | २०७९ पौष १३, बुधबार

चलचित्र क्षेत्रकै सबैभन्दा ठुलो दाबी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सको नोमिनेसन आउँदो शनिबार सार्वजनिक गरिने भएको छ ।
आयोजक संस्था संसार्स क्रिएसनले आउँदो शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी नोमिनेसन सार्वजनिक गर्न लागेको हो ।
कार्यक्रममा अवार्डको ३३ वटा विधाको नोमिनेसन सार्वजनिक गरिन लागिएको छ । नोमिनेसनको घोषणाको साथमा सबै नोमिनिजलाई प्रमाण पत्र र मेडल वितरण गरिन लागिएको छ ।
अवार्डको पहिलो संस्करणमा २८ विधामा अवार्ड वितरण गरिएको थियो भने दोश्रो संस्करणमा पाँच वटा विधा थपिएको हो ।
थप भएको विधामध्येमा प्रवासी कलाकार विधा अन्तर्गत देश बाहिर रहेर नेपालभाषाको गीतसंगीत र म्यूजिक भिडियो क्षेत्रमा योगदान पुर्याइरहेका प्रवासी कलाकारहरु पनि सम्मानित हुनेछन् ।
यसवर्ष अवार्डका प्रत्येक विधामा १०/१० जना नोमिनिज रहेका छन् भने धार्मिक र देशभक्ति गीतको विधामा भने १५ जना नोमिनेसनमा परेका छन् ।
संगीतका दुई फरक धारलाई एउटै विधामा राखिएको हुनाले १५ जनालाई नोमिनेट गरिएको संसार्स क्रिएसनका अध्यक्ष स्वतन्त्र महर्जनले बताए ।
अवार्डको दोश्रो संस्करणमा पनि संसार सप्तरंगी कला सम्मानलाई निरन्तरता दिइने भएको छ भने संसार तेज कला सम्मान पनि थप गरिएको छ ।
सप्तरंगी कला सम्मान अन्तर्गत यस वर्ष वरिष्ठ संगीतकर्मी रत्न बेहोशी, वरिष्ठ कलाकार नगीना जोशी, सुशील राजोपाध्याय, गायक पवित्र कसाः, संगीतकार गोविन्द ह्यूमत, जुगल डंगोल र कलाकार, निर्देशक रामकृष्ण खड्गीलाई सम्मान गरिँदैछ ।
त्यस्तै संसार तेज कला सम्मानबाट कला क्षेत्रमा तीन दशक बढि समयदेखि कलम चलाउँदै आएका वरिष्ठ पत्रकार श्याम स्मृत, वरिष्ठ निर्देशक पवन जोशी, वरिष्ठ तबला बादक र संगीतकार मनराजा नकर्मीको साथमा गायिका निशा देसार सम्मानित हुँदैछन् ।
तेज कला सम्मान भने संसार्स क्रिएशनका अध्यक्ष महर्जनका पिता तेज बहादुर महर्जनको स्मृतिमा राखिएको सम्मान हो ।
सरप्राइजको रुपमा एउटा विधाको सम्मान अझै बाँकि रहेको र उक्त सम्मानको घोषणा पनि शनिबारकै कार्यक्रममै गर्ने योजना रहेको अध्यक्ष महर्जनले बताए ।
Categorized in पेजथ्री