अब शूल्क तिरी विज्ञापन रहित फेसबुक र इन्स्टाग्राम चलाउन पाउने
SamacharDesk | २०८० कार्तिक १५, बुधबार

फेसबुक र इन्स्टाग्राममा विज्ञापन हेर्न नचाहने प्रयोगकर्ताका लागि मेटाले सशुल्क सेवा सुरु गरेको छ । मेटाले सोमबार एक ब्लग लेख्दै कम्पनीले युरोपमा सशुल्क योजना ल्याएको जानकारी दिएको हो ।
अब १८ वर्ष उमेर पुगेका फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्ताले मेटाको यो सशुल्क सेवा प्रयोग गर्न पाउनेछन् ।
वेब ब्राउजरका लागि प्रति महिना ९.९९ युरो अर्थात १४०० नेपाली रुपैयाँ र आईओएस डिभाइसहरूका लागि प्रति महिना १२.९९ युरो अर्थात १८०० रुपैयाँ तोकिएको छ ।
प्रयोगकर्ताहरूले एकपटक शुल्क तिरेपछि बिना विज्ञापन फेसबुक र इन्स्टाग्राम चलाउन पाउनेछन् । यदि प्रयोगकर्ताको एकभन्दा बढी अकाउन्ट भए प्रति अकाउन्ट अतिरिक्त ६ युरो तिर्नुपर्ने हुन्छ ।
त्यसरी सशुल्क फेसबुक र इन्स्टाग्राम चलाउने प्रयोगकर्ताको डेटा प्रयोग नगर्ने र उनीहरूलाई विज्ञापनका लागि ट्र्याकिङ नगर्ने कम्पनीको भनाइ छ ।
यो कदम मेटाले युरोपेली संघको डेटा गोपनीयता सम्बन्धी नियमले गर्दा आएको बताइएको छ । यद्यपि यस सेवालाई युरोपमा अनिवार्य भने गरिएका छैन ।
विज्ञापनरहित अनुभव चाहने प्रयोगकर्ताहरुको लागि मेटाको यो वैकल्पिक सेवा हो । तर मेटाले युरोपबाहेक अन्य क्षेत्रहरूमा यो सेवा विस्तार गर्नेबारे भने केही बताएको छैन ।
Categorized in विज्ञान-प्रविधी