arin enterprises

नुवाकोटको गोरु जुधाउने मेला यसपटक नहुने

SamacharDesk – समाचारडेस्क | २०७८ पौष ३०, शुक्रबार

प्रत्येक वर्ष माघ १ गतेका दिन नुवाकोटको विभिन्न स्थानमा हुने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटले मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण सो मेला स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा २५ जनाभन्दा बढी जम्मा हुन तथा कुनै पनि सभा–समारोह गर्न प्रतिबन्ध लगाएका कारण जिल्लाभर हुने माघ १ को मेला यस वर्ष स्थगित भएको हो ।

नुवाकोटको तारकेश्वर गाउँपालिकास्थित तारुका गाउँ, तादी गाउँपालिकास्थित सातबीसे गाउँ, लिख गाउँपालिकास्थित सूर्यमती गाउँ, पञ्चकन्या गाउँपालिकास्थित पञ्चकन्या गाउँ, शिवपुरी गाउँपालिकास्थित शेराबगर गाउँ, बेलकोटगढी नगरपालिकास्थित झिल्टुङ्ग गाउँ तथा नुवाकोट र रसुवाको सङ्गम वेत्रावतीलगायतमा यसरी गोरु जुधाइ मेला लाग्ने गर्दछ ।

तस्बिर सौजन्य – क्रीस दुलाल, विकिपिडिया

Categorized in संस्कृति