arin enterprises

दशैंको टीकासँगै जेष्ठ नागरिकको सम्मान

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ कार्तिक २, मंगलबार

पर्वले बोकेको सामाजिक सद्भावको पक्षलाई पुस्तान्तरण गर्न भन्दै काठमाडौँ महानगरपालिका वडा ३ ले आज सामुहिक टीका र जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यको साथमा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र वडाध्यक्ष दीपक के. सी. ले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाउनुका साथै रुद्राक्षको माला लगाइदिएर सम्मान प्रदान गर्नुभएको थियो ।

सम्मान प्रदान गरिसकेर उहाँहरुले जेष्ठ नागरिक बसेको ठाउँमा गएर टीका ग्रहण गर्नुभएको थियो । त्यस अवसरमा पूर्व उपप्रधानमन्त्री पोखरेलले दशै पर्वले सबै भाषाभाषी र जातजातिलाई सामाजिक सद्भावको सुत्रमा बाँधेको उल्लेख गर्नुभयो ।

‘जातजाति र भाषाभाषीकाविच आपसी दुःख सुख र सौहाद्र्रताका लागि दशैँ पर्वले ठूलो भूमिका खेलेको छ, वडाले अघि बढाएको यो काम उदाहरणीय छ’ पोखरेलको भनाइ थियो ।

महानगर प्रमुख शाक्यले जेष्ठ नागरिकको सहज जीवनका लागि काठमाडौँ महानगरपालिकाले महानगर विशेष भत्ताको व्यवस्था गर्नुका साथै हरेक वडामा जेष्ठ नागरिक मनोरञ्जन केन्द्र, जेष्ठ नागरिकमैत्री पार्क निर्माण बनाउँदै गरेको जानकारी गराउनुभयो ।

वडाध्यक्ष केसीले दशैको टीकालाई समावेशी बनाउन खोजेको बताउँदै हरेक वर्ष दशैँमा वडामा भएका बुबाआमाहरुबाट सामुहिक रुपमा शुभकामना लिने चलन चलाएको जानकारी गराउनुभयो ।

कार्यक्रममा ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

Categorized in स्थानीय