arin enterprises

आदीपुरुषको विवाद चलिरहँदा OMG 2 को टीजर सार्वजनिक

SamacharDesk – बिराज | २०८० आषाढ २६, मंगलबार

रामायणको कथावस्तुमा आधारित चलचित्र ‘आदीपुरुष’ को विवाद र वहस नसेलाउँदै बलिउडमा अर्को एउटा फिल्मको टीजर सार्वजनिक भएको छ, जसको सम्बन्ध पनि धर्मसँगै रहेको छ ।

बलिउडका खिलाडी कलाकार अक्षय कुमार अभिनित फिल्म OMG (ओ माइ गड) 2 को टीजर आज विहान सार्वजनिक गरिएको छ । भायकम १८ स्टुडियो युट्युब च्यानलबाट OMG 2 को टीजर सार्वजनिक गरिएको हो ।

आज जुलाईको ११ तारीखका दिन विहानको ११ बजे नै उक्त टीजर सार्वजनिक गरिएको थियो । सोही टीजरमार्फत चलचित्रको रिलिज डेट अगस्ट ११ तारीख पनि घोषणा गरिएको छ ।

टीजरमा देखिएका प्रसङ्ग र पात्रः

टीजरको सुरुवातमै परेश रावलको आवाजबाट गरिएको छ । परेश रावलको सो न्यारासनमा भगवानले आस्तिक अथवा नास्तिक कुनै पनि प्राणीमाथि भेदभाव नगर्ने सन्देश दिन खोजिएको छ ।

सोही टीजरमार्फत चलचित्रको कथावस्तुको पात्रको परिचय पनि दिइएको छ । कान्जिलाल मेहता अर्थात परेश रावललाई नास्तिक बताइएको छ भने पंकज त्रिपाठीलाई आस्तिक अथवा महादेवको भक्तको रुपमा प्रस्तुत गरिएको छ ।

जहाँ चलचित्रको पहिलो भागमा अक्षय कुमारलाई कृष्णको रुपमा देखाइएको थियो भने दोश्रो भागमा महादेवको रुपमा देखाइएको छ ।

यस चलचित्रमा यामी गौतम वकिलको भूमिकामा छन् भने मर्यादा पुरुषोत्तम रामकै रुपमा परिचित कलाकार अरुण गोवललाई रामकै भूमिका प्रस्तुत गरिने बताइएको छ ।

आदीपुरुषमा रामलाई जुन रुपमा प्रस्तुत गरिँदा दर्शकहरु रुष्ट बनेका थिए, त्यसैको फाइदा लिन अरुण गोबिललाई रामको रुपमा प्रस्तुत गर्न लागिएको टीप्पणीसमेत हुँदैछ ।

चलचित्रको कथावस्तुः

OMG को पहिलो पार्टमा धर्म र भगवानको नाममा समाजमा व्याप्त विकृती बारे देखाइएको थियो ।

प्राय सिक्वेल बनाईँदा पहिलो भागकै कथाको निरन्तरता रहेको हुन्छ । तर यस चलचित्रमा भने पहिलो भागको भन्दा फरक कथावस्तु समेटिएको बताइन्छ ।

टीजरमा धर्मकै कुरा उठाइएका भएपनि चलचित्रको मुख्य कथावस्तुले भने शिक्षा क्षेत्रको विकृतीलाई उठान गर्न खोजिएको बताइएको छ ।

आदीपुरुषबाट रुष्ट दर्शकलाई रिझाउला?

आदीपुरुष चलचित्र नेपालमा विवादीत बनेको त विदित विषय नै भयो । काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका र धरान उपमहानगरपालिकामा चलचित्र प्रदर्शनीमा प्रतिवन्ध नै लगाइएको थियो ।

आदीपुरुष भारतमा पनि कम विवादीत बनेन ।

आधुनिकतामा नाममा पौराणिक पात्रलाई मजाक बनाइएको भन्दै भारतमा यसको चर्को विरोध भएको थियो । चलचित्रका स्क्रीप्ट लेखक मनोज मुन्ताशिरले त दर्शकलाई पटक पटक माफी माग्नुपरेको थियो ।

आदीपुरुषभन्दा अघि आमिर खान अभिनित चलचित्र PK पनि विवादित बनेको थियो । हिन्दु धर्मको अपमान गरिएको भन्दै भारतमा हिन्दु धर्मसँग सम्वन्धि विभिन्न संघसंस्था र जनस्तरबाटै पनि PK को विरोध भएको थियो ।

अब यस्तो परिस्थितीका बीचमा धर्म र भगवानको नाममा देखिएको विकृतीकै उठान गरिएको चलचित्र OMG 2 को सिक्वेल अर्थात दोश्रो भाग रिलिज हुन लागेको छ ।

आदीपुरुष हेरेर रुष्ट दर्शकलाई अब इःन् २ ले झन् रुष्ट बनाउने हो कि खुसी बनाउने हो, त्यो हेर्न भने आउँदा अगस्ट ११ लाई नै कुर्नुपर्ने हुन्छ ।

Categorized in पेजथ्री