मातृभाषा दिवसको अवसरमा मातृभाषा पत्रकारिता सम्वन्धि अन्तरक्रिया हुँदै
SamacharDesk – बिराज | २०८० फाल्गुण ८, मंगलबार

भोलि फेब्रुअरी २१ अर्थात अन्तर्राष्ट्रिय मातृभाषा दिवस । दिवसको अवसरमा भोलि नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदैछ ।
यसै क्रममा नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले मातृभाषा पत्रकारिता सम्वन्धि एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।
दबूले भोलि काठमाडौंमा ‘मातृभाषा पत्रकारिताको महत्व’ विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यक्रममा नेपालभाषाबाट प्रकाशनमा रहेका संचारमाध्यमहरुका प्रतिनिधिहरुले आआफ्नो कुरा राख्ने आयोजकले जनाएको छ ।
‘अहिले पत्रकारिताको परिभाषा व्यापक भइसकेको छ । नेपालभाषामा संचालित पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजन आदि सबै माध्यमका प्रतिनिधिहरुको उपस्थितीमा यो अन्तरक्रिया कार्यक्रम गर्न लागेका हौं’ पत्रकार दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले भने ।
मातृभाषा शताब्दी दिवसको तयारीको रुपमा पनि यो कार्यक्रमलाई गर्न लागिएको अध्यक्ष श्रेष्ठले भने ।
आजभन्दा ९९ वर्ष अघि ने.सं. १०४५ मा धर्मादित्य धर्माचार्यले नेपालभाषाको पत्रिका ‘बुद्धधर्म’ प्रकाशन गरेका थिए । यहि पत्रिका नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइएको छ ।
यसै सन्दर्भमा पत्रकार दबूले नेपालमा मातृभाषा पत्रकारिताको सुरुवात भएको सय वर्ष पुग्न लागेको अवसरमा मातृभाषा शताब्दी दिवस मनाउने तयारी गरीरहेको छ ।
Categorized in समाज