arin enterprises

‘आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान’ विषयक एकदिने गोष्ठी सम्पन्न

SamacharDesk – बिराज | २०८१ जेठ ५, शनिबार

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान’ विषयक एकदिने गोष्ठी शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरणमा संलग्न सबै सरोकारवाला निकायहरूले संवेदनशीलता अपनाई प्रचलित कानूनको अधिनमा रही कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सम्पत्ति शुद्धिकरणको अनुसन्धानको क्रममा देखिएका समस्या तथा चुनौतिलाई समाधान गर्न गोष्ठीमा भएको छलफल तथा अन्तरक्रिया फलदायी हुने विचार राखे ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपालले समेत गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गरेका थिए ।

नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका उपनिर्देशक स्वरूप श्रेष्ठले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण मुद्दाको अनुसन्धानको क्रममा गर्नुपर्ने समन्वयकारी निकाय सम्बन्धी जानकारी, वित्तिय जानकारी ईकाइको भूमिका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग नेपाल प्रहरी शाखा पुल्चोक ललितपुरका तर्फबाट प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले प्रस्तुतीकरण दिएका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्री, नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका निर्देशक दिर्घ बहादुर रावल, उच्चको साथै विशेष र जिल्ला सरकारी वकिल कार्यालयका पदाधिकारीहरू तथा नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीका विशिष्टिकृत ब्यूरोका प्रतिनिधिहरू, उपत्यकास्थित मुद्दा चल्ने प्रहरी कार्यालयका प्रमुख,अनुसन्धान अधिकृतहरूका साथै जिल्ला प्रहरी कार्यालय काभ्रे, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रसुवा र इलाका प्रहरी कार्यालय बनेपा र इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रमुख एवम् अनुसन्धान अधिकृतहरूको समेत सहभागीता रहेको थियो ।

Categorized in समाज