७ महिनामा जम्मा ४.८८ प्रतिशतले मात्र पाए पूर्ण खोप
SamacharDesk – बिराज | २०७८ श्रावण ११, सोमबार

नेपालमा हालसम्ममा जम्मा ३६ लाख ७० हजार ८४० जनाले कोभिड १९ विरुद्धको खोप पाइसकेका छन् ।
तीमध्ये १८ लाख २८ हजार ४८४ जनाले भारतीय खोप कोभिशिल्ड लगाएका छन् भने १५ लाख ७६ हजार ६७० जनाले चाइनीज खोप भेरोसेल लगाएका छन् । अमेरीकन जोनसन एन्ड जोनसनको खोप पाउनेको संख्या भने २ लाख ६५ हजार ६८६ रहेको छ ।
खोप पाउनेहरुमध्ये दोश्रो डोज अथवा पूर्ण मात्राको खोप भने १४ लाख २३ हजार ४१६ जनाले मात्र पाएका छन् ।
कोभिशिल्ड खोप पाउनेमध्ये ४ लाख ६० हजार ३०८ जनाले दोश्रो मात्र पनि लिइसके भने भेरोसेलको दोश्रो मात्रा लिनेको संख्या ६ लाख ९७ हजार ४२२ रहेको छ । अमेरिकी जोनसन एन्ड जोनसनको खोप भने एक मात्रा मात्र लिए पुग्छ ।
गत २०७७ माघ १४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट खोप कार्यक्रमको शुभारम्भ भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कको आधारमा खोप कार्यक्रम शुभारम्भ भएको करीब ७ महिनाको अवधिमा नेपालको जनसंख्याको जम्मा १२ दशमलव ५९ प्रतिशतले मात्र खोप पाएका छन् ।
अझ त्यसमा पनि पूर्ण मात्राको खोप त जम्मा ४ दशमलव ८८ प्रतिशतले मात्र पाएका छन् ।
तत्कालीन प्रधानमन्त्री ओलीले खोप कार्यक्रमको शुभारम्भ गर्दा ३ महिनाभित्रै सबै नेपालीले खोप पाउने बताएका थिए । तर खोप कार्यक्रम शुभारम्भ गरिसकेर ६ महिना सरकारको नेतृत्व गरेका ओलीले आधा जनसंख्यालाई पनि खोप उपलब्ध गराउन सकेनन् ।
अहिले खोप वितरणको गति हेर्दा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको घोषणा कार्यान्वयन हुनेमा पनि शंका देखिएको छ ।
जोनसन एन्ड जोनसन खोपको शुभारम्भ गर्दै प्रधानमन्त्री शेरबहादुर देउबाले आउँदो असोजसम्ममा एक तिहाइ जनसंख्याले खोप पाइसक्ने र यो वर्षको अन्त्यसम्ममा सबैले खोप पाउने घोषणा गरेका थिए ।
तर हालको अवस्थालाई हेर्ने हो भने प्रधानमन्त्री देउबाको घोषणा कार्यान्वयन हुने सम्भावना निकै कम छ । खोप वितरणमा अहिलेकै गति कायम रहने हो भने हालको जनसंख्या अनुसार सबैलाई खोप वितरण गरीसक्न १० वर्षभन्दा बढि समय लाग्नेछ ।
चाँडो भन्दा चाँडो खोप वितरण गरी सुरक्षित वातावरण निर्माण गर्ने हो भने दैनिक खोप वितरणको संख्यामा उल्लेख्य वृद्धि गर्नुपर्ने देखिन्छ ।
Categorized in समाज