नेपाल कोरिया मैत्री अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसीन सहयोग
SamacharDesk – बिराज | २०७८ जेठ १९, बुधबार

कोभिड १९ र्यापिड एक्सन टास्कफोर्स (C19-RAT) ले मध्यपुर थिमि नगरपालिका स्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुथिको सहकार्यमा टास्कफोर्सले १० लिटरको ६३ थान अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई सहयोग गरेको हो ।
मंगलबार अस्पताल पुगेर टास्कफोर्सका प्रतिनिधिहरुले मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरेको हो ।
सो अवसरमा नगर प्रमुख श्रेष्ठले अब नगरपालिकाका कुनै पनि विरामीले अक्सिजनको अभावमा उपचार नपाउने चिन्ताको अन्त्य भएको दावी गर्नुभयो । उहाँले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना भए सँगै कोभिड १९ का विरामीहरुलाई गुणस्तरीय अक्सिजन सहज भएको जानकारी दिनुभयो ।
‘भौतिक संरचना पर्याप्त भएतापनि हाल अक्सिजनको अभावमा अस्पतालले दिनुपर्ने सेवा सुविधा दिन नसकिरहेको अवस्था थियो । अब यसलाई चिर्दै अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रयोग गरी अस्पतालमा ६५ बेड तुरुन्तै संचालनमा ल्याइनेछ’ श्रेष्ठले भन्नुभयो ।
गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले हरेक दिन कोभिड संक्रमणका कारण मानिसहरुले मृत्युवरण गरेको समाचार आइरहँदा अक्सिजन जीवन रक्षाका लागि थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
आजको मुस्किल समयमा आफ्नो घर भित्रै सुरक्षित बस्न र आफ्नो तर्फबाट देश जनता र समाजका लागि सकिने सहयोग गर्न अमात्यले अनुरोध गर्नुभयो ।
सो अवसरमा इंगेज नेपालका प्रतिनिधि डा. दिवेश कर्माचार्यले नगरपालिकालाई आगामी दिनमा अस्पतालमा संक्रमित फोहोर बैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्न र आधुनिक सार्वजनिक शौचालय निर्माण गरि सेवा विस्तार गर्न थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
नेपालमा कोरोना संक्रमणको दोश्रो लहरले भयावह रुप लिन थालेसँगै बिफोन, सेन, एन्फो, क्रिएशन नेपाल, नेपाल राइजिङ, इंगेज नेपाल र गुथिलगायतका संस्थाहरु मिलेर कोभिड १९ र्यापिड एक्शन टास्कफोर्स गठन गरेका थिए ।
समुहले विभिन्न अस्पताल र आईसोलेसन सेन्टरहरुमा अहिलेसम्म सय वटा अक्सिजन सिलिण्डर र ७३ वट अक्सिजन कन्सनट्रेटर मेसिन उपलब्ध गराइसकेको छ ।
Categorized in समाज