अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ को मृत्यु ७ घाइते
SamacharDesk | २०७९ बैशाख ८, बिहिबार

ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज अक्सिजन सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन ।
मृत्यु हुनेमा भारतीय नागरिक बृज कुमार महतो रहेको छ । घाइते सात मध्ये एकको अवस्था गम्भिर रहेको छ ।
घाइतेहरुको पाटन अस्पताल र विएण्डवि अस्पतालमा उपचार शुरु भएको जानकारी प्राप्त भएको छ । दुई दर्जन बढी कामदार भएपनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले दुर्घटना हुन नसकेको र विष्फोटनले उद्योगमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाणले उक्त अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिनुभएको छ ।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन गर्न निर्देशन दिनुभएको हो ।
Categorized in समाज