arin enterprises

पचली भैरवको खड्गसिद्धि गरिने

SamacharDesk – Ram Dangol | २०८० कार्तिक ७, मंगलबार

बाह्र वर्षे पचली भैरव जात्रा अन्तर्गत आज खड्ग सिद्धि गरिने भएको छ ।

गएको राती तान्त्रिक साधना पूरा सम्पन्न गरेर आज बेलुकी खड्गसिद्धि गरिन्छ । विजया दसमीको बेलुकी काष्ठमण्डपस्थित भुइसतः अगाडि खड्गसिद्धि गर्नुपर्ने परम्परा रहेको छ ।

तत्कालीन राजा गुणकाम देवले तलेजुमा स्थापना गराएको सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको खड्गसँग पचली भैरवको खड्गसिद्धि गरिन्छ ।

आज भन्दा २४ वर्ष अघि राजा विरेन्द्र शाहसँग खड्गसिद्धि गरिएको थियो । पचली भैरवको बाह्र वर्षे जात्रा अन्तर्गत राष्ट्रप्रमुखसँग खड्गसिद्धि गर्नुपर्ने परम्परा रहेको छ ।

नेपालमा राजतन्त्र समाप्त भएसँगै प्राविधिक कारणले राष्ट्रपतिसँग खड्गसिद्धि नगरी हनुमानढोकास्थित तलेजु मन्दिरबाट ल्याइने राज खड्गसँग खड्गसिद्धि गरिदै आएको हो ।

दरबारबाट ल्याइने राज खड्गसँग लुँमदी अजिमालाई छुवाएर शक्ति प्रदान गराउने परम्परा रहेको छ ।

विजया दशमीको दिन खड्गसिद्धि गर्न विभिन्न देवगणहरु मुकुन्डो, देव पोसाक, गरगहना लगाएर भद्रकाली पीठबाट सांस्कृतिक बाजागाजासहित टुँडिखेल, नयाँ सडक, दुगं बही, वँटु हुँदै मखन तारिण बहालस्थित सिंहढोकामा पुग्ने गर्छन् ।

जात्रामा भद्रकाली, पचली भैरव, बाराही, गणेश, कुमारी, ब्रह्मायणी, रुद्रायणी, नारायणी, इन्द्रायणी, सिंहिनी, व्यघिनी, महालक्ष्मी श्वेत भैरवको सहभागिता रहन्छ । विजया दशमीको दिन खड्गसिद्धि गरेर सुरु हुने नाच काठमाडौंका विभिन्न टोललगायत भक्तपुर र ललितपुरमा समेत प्रदर्शन गरिन्छ ।

भद्रकालीलाई राजा गुणकामदेवले तत्कालीन देश रक्षार्थ स्थापना गराएको भाषा वंशावलीमा उल्लेख छ ।

Categorized in संस्कृति