arin enterprises

पचली भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा भोलीबाट औपचारिक रुपमा सुरु हुने

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० आषाढ २७, बुधबार

काठमाडौंको ऐतिहासिक पचली भैरवको १२ बर्षे खड्गसिद्धि जात्रा (गथु प्याखं) को गतिविधि भोलि बिहिबारबाट औपचारिक रुपमा सुरु हुने भएको छ ।

भोलि अर्थात कामिका एकादशीको दिन काठमाडौंको मल्लकालीन दरवार हनुमाढोकामा सुपारी राखिने भएको छ । १२ वर्षे जात्रा सुरु गर्नु पूर्व कामिका एकादशीको दिन राजालाई निमन्त्रणा स्वरुप सुपारी र पैसा राख्न जाने चलन रहेको छ ।

राजालाई सुपारी र पैसा राख्ने यो परम्परालाई स्थानीय नेपालभाषामा ‘ग्वय् दां तयेगु’ भनिन्छ । ग्वय्दां तयेगु प्रकृयासँगै जात्राको कार्यक्रमले औपचारिकता पाउँछ ।

ग्वय्दां राख्न जानको लागि भोलिको दिन  देवगण दलाछिस्थित पचली भैरवको द्यःछेँमा भेला भई बिहान बाजागाजासहित भैरव अंकित पूजाको थालसहित हनुमानढोकामा पुग्नेछन् ।

हनुमानढोका पुगी त्यहाँ रहेको परम्परागत मल्लराजाको खड्गमा ग्वय्दां चढाइन्छ ।

राजतन्त्रकालमा राजालाई नै ग्वय्दां राख्ने गरिन्थ्यो भने दशैंको विजयादशमीको दिनमा पनि राजासँगै खड्गसिद्धि गर्ने चलन थियो । नेपालमा गणतन्त्रको स्थापना पछि हनुमानढोकामा रहेको परम्परागत मल्लकालीन खड्गलाई नै ग्वय्दां राख्ने र सोही खड्गसँग खड्गसिद्ध गर्ने गरिएको छ ।

वि.सं. २०६८ सालदेखि यसरी मल्लकालीन खड्गलाई ग्वय्दां राख्ने र त्यही खड्गसँग खड्गसिद्धि गर्ने गरिएको १२ वर्षे खड्गसिद्धी जात्राका संयोजक भरत मालीले बताए ।

ग्वय्दां राख्ने प्रकृया सम्पन्न भएसँगै जात्राको सुनिश्चितता भएको मानिन्छ । यसपछि श्रावण कृष्ण चर्तुदशी अर्थात गथांमुगः चःर्‍हे (गठेमंगल) देखि पचली पीठमा नाच सिकाउने र नाचको अभ्यास सुरु गरिन्छ ।

प्रत्येक १२ वर्षमा हुने यस खड्गसिद्धि जात्रामा नवदुर्गाको नाच भने दशैको विजया दशमीको दिनबाट सुरु हुने गर्दछ ।

Categorized in संस्कृति