arin enterprises

२४ बर्षपछि पाटनमा नाच्दै पचली भैरव

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २५, बिहिबार

पचली भैरवको १२ बर्ष खड्गसिद्धि नाचको देवगणहरु यसपटक पाटनमा नाच्ने भएका छन् । पछिल्लो पटक २४ बर्ष अघि पाटनमा भएको यो नाच नचाइएको थियो भने यस बर्षदेखि फेरी निरन्तर हुन लागेको हो ।

यस अघि २०५५\०५६ साल तिर पचलीका देवगणहरु पाटनमा नाचेको पचली भैरव १२ बर्ष खड्ग सिद्धि जात्रा समितिका संयोजक एवम् गुरु भरत माली बताउँछन् । आउँदो २६ गते शुक्रबार बेलुका र २७ गते शनिबार दिनभरी नाच नचाइनेछ ।

समितिका संयोजक भरत मालीका अनुसार पछिल्लो पटक सम्पर्क व्यक्तिहरु कोहि नहुँदा नाच पाटन ल्याउने परम्परा रोकिएको हो ।

‘पहिले पहिले टोल नाइके (त्वाः नायः) र देय् नायः भनेर हुन्थ्यो । उनीहरुसँगै सम्पर्क गरेर हामीले पचली भैरव देवगणको परदेश यात्रा लग्ने र विभिन्न ठाँउमा नचाउने गर्थ्यौँ। तर पछि सम्पर्क व्यक्ति कोहि नहुँदा पचली भैरव र भद्रकालीको परदेश यात्रा हुन नसकेको हो’ संयोजक मालीले बताए ।

यसपटक भने ललितपुर महानगरपलिकासँग नै समन्वय गरेर यो नाच संचालन गर्न लागेको छ ।

पाटनमा नाच संचालन गराउनको लागि पाटन संग्रहालय प्रमुख सुरेश लाखे मार्फत ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन समक्ष कुरा पुर्‍याएको मालीको भनाई छ ।

त्यसैगरी, यो नाचको सम्पूर्ण व्यवस्थापन ललितपुर महानगरले नै गरेको संग्रहालय प्रमुख लाखे बताउँछन् । भोलि २६ गते शुक्रबार पचली भैरव देवगणहरु पाटनढोकाको गणेश मन्दिरसँगैको सतलमा पुगेपछि विधिवत पूजा सम्पन्न गरी देवगणहरु मुकुट पोशाक लगाई त्यहाँबाट निस्कनेछन् ।

त्यसपछि बालिफल, नकबहिल, धलाचा, पट्को, भीमसेन मन्दिर, पाटन दरवार स्क्वाएर हुँदै हःखा कोत पुगेपछि नाच शुरु हुने मालीले जानकारी दिए ।

हःखा पुगेपछि भैरवको नाच हुने र त्यसपछि बलिपूजा गरेपछि शुक्रबारको नाच सम्पन्न हुनेछ ।

त्यस्तै शनिबार बिहान १० बजेदेखि पुनः गणेशको नाचबाट विधिवत रुपमा नाच शुरु हुने र साँझ बलिपूजा सम्पन्न गरि अजिमाको दैत्यवधको नाच भएपछि देवगणलाई पाटनबाट बिदाई गरिने कार्यक्रम रहेको छ ।

यसैबिच यस नाचको लागि आज बिहानै नाच नचाइने स्थान मंगलबजार हःखा कोतमा इलां राखेको छ ।

Categorized in संस्कृति