arin enterprises

४८ बर्षपछि पचली भैरवको परदेश यात्रा साँखुमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० चैत्र ९, शुक्रबार

पचली भैरव १२ बर्षे खड्ग सिद्धिजात्राको नाच करिब पाँच दशकको अन्तराल पछि पुनः साँखु (शंखरापुर) नगरमा हुने भएको छ । पचली भैरवको परदेश यात्राको क्रममा यो नाच साँखुमा ४८ बर्ष पछि हुने लागेको हो ।

पचली भैरव देवगणको नाच यहि चैत ९ गते शुक्रबार साँझ र १० गते शनिबार दिनभरी शंखरापुर नगरपलिका वडा नं ७ साल्खा टोलमा हुनेछ ।

विगतमा यो नाच साँखुमा किन रोकियो भनेर यकिनका साथ भन्न नसकिने पचली भैरव १२ वर्षे खड्गसिद्धि जात्रा व्यवस्थापन समितिकासंयोजक भरत माली बताउँछन् ।

‘वि.सं २०३२ सालमा साँखु लग्दा भक्तपुरको नवदुर्गा गण पनि त्यहाँ ल्याइएको थियो । भक्तपुरको नवदुर्गा र पचली भैरव देवगणसँगै त्यहाँ पुग्दा कुनै एक टोलीलाई मात्र पूजा दिन सक्ने बताएको थियो । सादय यहि कारणले पछि त्यहाँ नगएको हो कि’ संयोजक माली बताउँछन् ।

आज साँखुमा यो नाच श्री माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिको समन्वयमा हुन लागेको हो ।

४८ बर्ष पछि साँखु आउने भएपछि साँखुवासी धेरै नै उत्साहित रहेको श्री माधव नारायण स्वस्थानी व्रत तथा शालनदी सुधार समितिका महासचिव योगेशमान डंगोलले बताए ।

पचली भैरव देवगण साँखु आएपछि साँखुको भौध्वाखाबाट स्वागत गरी साँखु नगर परिक्रमा गराई साल्खा टोलमा नचाउने कार्यक्रम रहेको महासचिव डंगोलले जानकारी दिए ।

‘सायद धेरै समयसम्म रोकिएकोले होला यहाँका बुढापाकालाई पनि यहाँ केही विशेष केही गर्नुपर्छ कि भन्ने थाहा छैन । शंखरापुर–९ चुगाँ (सानागाँउ) र ६ क्वाछेँस्थित तलेजु भवानीको मन्दिरमा पनि लगि बलि सहित नाच नचाउनु पर्ने चलन रहेको थाह पाएँ’ महासचिव डंगोलको भनाई हो ।

‘समय अभावका कारण यसपटकको लागि भने सबै पूजा साल्खा टोलमै दिइने र अर्कोपटकबाट केके गर्नुपर्ने हो विधिवत् रुपमा निरन्तरता दिने योजना छ’ उनले थपे ।

त्यस्तै संयोजक मालीका अनुसार वि.सं. २०७२ सालमा भद्रकालीको १२ बर्षे नाच भने ३६ बर्षको अन्तरालपछि टोखा लगिएको थियो ।

‘त्यसपछि भद्रकाली र पचली देवगण टोखा लग्दा साङ्लामा पनि नचाउनुपर्छ भन्ने कुरा थाहा पाएँ र आठ बर्षपछि यसपटक पचली भैरवको नाच लग्दा त्यो परम्परालाई निरन्तरता दियौँ’ मालीले भने ।

२०८४ सालको भद्रकाली खड्गसिद्धि जात्रामा भने साँखु परदेश यात्राको क्रममा सबै विधिविधान पुर्‍याउने संयोयक मालीको भनाई छ ।

यता आर्थिक पक्षको सवालमा महासचिव डंगोलले साँखुका स्थानियबासीन्दा र शंखरापुर नगरपालिकाबाट जुटाएको बताए ।

‘शंखरपुर नगरपालिकाले पनि ५० हजार रुपैयाँको सहयोग गरेको छ । बाँकी आर्थिक व्यवस्थापन स्थानीय वासिन्दा, सुनटोल सुधार समिति अन्तर्गतको जात्रा व्यवस्थापन समिति र श्री माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितीबाट व्यवस्थापन गरेका छौँ’ डंगोलले जानकारी दिए ।

परदेश यात्राको क्रममा पचली भैरवको नाच टोखा, पाटन, भक्तपुर, साङला, चुनिखेल, गोकर्ण, साँखु र चाँगुमा पनि प्रदर्शन गर्नुपर्ने चलन रहेको छ ।

यसअघि टोखा, साङला र पाटनमा यो नाच सम्पन्न भइसकेको छ ।

त्यस्तै भक्तपुर परदेश यात्राको लागि भने त्यहाँका स्थानीय तह र संघसंस्थासँग आवश्यक सरसल्लाह भइरहेको संयोजक माली बताउँछन् ।

Categorized in संस्कृति