arin enterprises

असन चोकमा आज खट जुधाउने

SamacharDesk – Ram Dangol | २०७९ चैत्र ८, बुधबार

पाहाँचःहेको तेस्रो दिन आज असनमा देउता जुधाउने गरिन्छ । जसलाई स्थानीय भाषामा ‘द्यः ल्वाकेगु’ भन्ने गरिन्छ ।

आजको दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ । आज टेबहाल भद्रकाली र वटु भद्रकाली देवीका खटहरू धूमधामसँग जात्रा गरी असन चोकमा दिउँसो ल्याइन्छ र कंकेश्वरी अजिमाको खट पनि सोही समयमामा ल्याइन्छ ।

टेबहाल र वटु भद्रकाली अजिमाको खटका तर्फबाट बलिरहेको तिंप्वाः सहित कंकेश्वरी देवीको खटले टेबहाल र वटु भद्रकालीको खटलाई तीनपटक परिक्रमा गरिन्छ र तिप्वाः साटासाट गरिन्छ र देउता जुधाउने कार्य सम्पन्न हुन्छ ।

यसरी देउता जुधाउने भनेर देवीदेवताहरुलाई मिलन गराउनेलाई नै देउता जुधाउने भन्ने गरेको पाइन्छ । यसरी कंकेश्वरी अजिमा, वटु भद्रकाली अजिमा र टेवहाल भद्रकाली अजिमाहरुलाई भेटघाट गराएर जात्रा भव्य रूपमा मनाउने गरिन्छ ।

यस अवसरमा असनवासीका घरका झ्याल झ्यालबाट  भक्तजनहरूको स्वागतार्थ चटामरी, ल्वंचाःमरी फ्याँकेर हर्ष बढ़ाईं ज्ञापन गर्ने गर्दछन् । यो जात्रा हेर्ने धेरै मानिसको असनमा भीड नै लागेको हुन्छ ।

यसरी देवदेवीहरुको खटलाई पूरै नगर परिक्रममा गरिसकेपछि द्यःछेँ अर्थात देउटाको घरमा लगेर प्रतिष्ठान गरिन्छ र जात्रा समापन हुन्छ ।

अन्नपूर्ण अजिमा अगाडि टेबहालकी लुभडी अजिमा र वटुखट, कङकेश्वरीको कङ्ग अजिमाको खट जुदाए पनि नरदेवीकी ङेतमरु अजिमा, टंकेश्वरकी तखती अजिमा, मैती अजिमा, नयाँ बजारकी म्हेपी अजिमा र बाङ्गेमुढाकी न्हेकन्तला अजिमाको पनि छुट्टाछुट्टै जात्रा हुने गर्दछ ।

यी दिदी–बहिनीमध्ये क्षेत्रपाटीकी लुतीमरु अजिमा (इन्द्रायणी) खटजात्रा भने बालाचतुर्दशीका दिन मात्र हुने परम्परा छ । यसैबीच सोमबार पाहाँचः¥हेको रातमा टेबहालको भद्रकाली, वटु भद्रकाली देवीको खट र कंकेश्वरी देवीको खट टुंडिखेलमा ल्याएर देउता जुधाउने जात्रा सम्पन्न भएको छ ।

देउता जुधाउँदा टेबहाल वटुका देवीहरूको खटमा चढेर बसेका मानिसहरूको हातमा रहेको बलिरहेको तिंप्वाः साटासाट गरेर तीनपटक खट घुमाएर फर्काउने गरिन्छ ।

Categorized in संस्कृति