arin enterprises

टोलटोलमा मरःजा खुवाइयो

SamacharDesk – Ram Dangol | २०७९ चैत्र ७, मंगलबार

नेवारहरुको सबैभन्दा ठूलो चाडको रुपमा मनाउँदै आएको पाहाँचह्रको आज दोस्रो दिन ।

आज टोलटोलमा बालबालिकाहरूलाई ‘मरःजा’ खुवाइयो । मरःजा एक प्रकारको पवित्र भाट हो, जुन शुद्धसँग नित्य पूजा गरी पकाइन्छ ।

‘मरःजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेलविवाह नगरेका सानासाना बालबालिकाहरूलाई खुवाउने गरिन्छ । मरःजा अजिमाको प्रसादको रूपमा दालभात तरकारी खुवाउने गरिन्छ ।

श्रद्धालु व्यक्तिहरूले यस अवसरमा कसैले चक्लेट, कसैले बिस्कुट र कसैले मिठाई पनि बालबालिकाहरूलाई वितरण गर्ने गर्छन् । यसरी विभिन्न परिकार वितरण गर्नेहरूको घुइँचो नै लागेको हुन्छ ।

अजिमाको प्रसाद ‘मरःजा’ खुवाएपछि बालबालिकाहरूलाई भुतप्रेतले नछुने, रुन्चे नलाग्ने र अनेकौं रोग लाग्नबाट बचाउँछ भन्ने जनविश्वास रहि आएको छ । ‘मरःजा’को अवसरमा आज काठमाडौंको विभिन्न टोलहरु भिमसेनस्थान, लगन, नायपाचो, ह्यूमत, कोहिटी आदि स्थानमा खुवाइयो ।

मरःजा खुवाउँदा ८४ व्यञ्जनसहित दाल, भात, तरकारी, मासु आदि खुवाइन्छ । यस अवसरमा आफन्त वित्नेहरुको घरबाट कसैले दूध, कसैले दही दान गर्ने प्रचलन रहेको छ ।

आजै टुंडिखेलमा घोडेजात्रा पर्व मनाएका छन् । घोडेजात्रा काठमाडौंको पर्व भनिए तापनि ललितपुरको भोलाख्यःमा रक्सी खुवाएर मात्तिएको एउटा मात्र घोडा कुडाएर घोडेजात्रा आजै मनाइयो । त्यस्तै भक्तपुरमा पनि परालको घोडा बनाएर दौडाएको छ ।

 

Categorized in संस्कृति