arin enterprises

८० जना विद्यार्थीहरुबाट पाहाँचःर्‍हे कार्यक्रम हुँदै

SamacharDesk – बिराज | २०७९ फाल्गुण २५, बिहिबार

पाहाँचःर्‍हे नेवार समुदायको एउटा ठुलो पर्व हो । यस पर्वमा काठमाडौंको टोलटोलमा स्थानीय देवीहरुको खट जात्रासँगै नायखिंको बोलले टोलहरुलाई उर्जावान बनाउने गर्दछ ।

यस वर्षको पाहाँचःर्‍हे पर्व आउँदो चैत्र ६ गतेको दिनबाट सुरु हुन लागेको छ । तर काठमाडौंको कंकेश्वरी मन्दिरसँग रहेको इनाय टोलमा भने चैत्र ४ गते नै पाहाँचःर्‍हेको रौनक हेर्न पाइने भएको छ ।

आउँदो चैत्र ४ गते यहाँ विभिन्न विद्यालयका विद्यार्थीहरु मिलेर सांकेतिक रुपमा पाहाँचःर्‍हे मनाउन लागेका हुन् । विद्यार्थीहरुलाई यहाँको मौलिक कला, संस्कृति हस्तान्तरण गर्ने उद्देश्य अनुरुप यो दिनमा इन्द्र विनायक क्लबले पाहाँचःर्‍हे कार्यक्रमको आयोजना गर्न लागेको हो ।

‘हाम्रो मौलिक संस्कृतिको संरक्षण गर्ने हो भने भविष्यका कर्णधार बालबालिकालाई संस्कृतिको व्यवहारिक शैध्दान्तिक ज्ञान दिनु आवश्यक छ । यस कार्यक्रममार्फत हामीले बालबालिकालाई पाहाँचःर्‍हेका विविध पक्षहरुको बारेमा सिकाउन खोजेका हौं’ क्लबका अध्यक्ष बिनोद खड्गीले बताए ।

पाहाँचःर्‍हे जात्राको क्रममा स्थानीय देवीलाई गममा राख्ने, लुकुमाःद्यःको पूजा, तान्त्रिक विधिबाट पकाइएको भात मलःजा खुवाउने, टुँडिखेलमा खट जुधाउने, असनमा खट जुधाउने आदि गरिन्छ ।

४ गते इनाय टोलमा आयोजना हुने पाहाँचःर्‍हे कार्यक्रममा पनि यिनै गतिविधिहरुलाई सांकेतिक रुपमा प्रस्तुत गर्न लागिएको कार्यक्रम संयोजक राजन शाहीले बताए ।

‘कार्यक्रममा नायखिँ बजाउँदै वटु भद्रकाली, टेबहालको भदकाली र कंकेश्वरीको खट जात्रा साथै खट जुधाउने गतिविधि प्रस्तुत गरिनेछ । साथमा प्रतिकात्मक रुपमा लुकुमाःद्यः पूजा, मलःजा ख्वाउने गतिविधि पनि देखाइनेछ । बालबालिकाहरु आफै यी गतिविधि गर्दै संस्कृति सिकोस् भन्ने उद्देश्य हो’ शाहीले भने ।

विद्यार्थीहरुले खटको प्रतिमूर्ति बोकेर खटजात्रा गर्नुका पाहाँचःर्‍हेका प्राय सबैजसो गतिविधिहरु सांकेतिक रुपमा प्रस्तुत गरिने संयोजक शाहीले जानकारी दिए । कार्यक्रममा करीब ८० जना विद्यार्थीहरुले प्रस्तुति दिने बताइएको छ ।

Categorized in संस्कृति