arin enterprises

पलेशालाई पारालिम्पिकमा ऐतिहासिक कास्य पदक

SamacharDesk | २०८१ भाद्र १५, शनिबार

नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जितेकी छन्।

के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान बनाउन सफल भइन् ।

उनले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गरेकी हुन्। योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

यसअघि पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गरेकी थिइन् ।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०–८ ले पराजित भएकी थिइन् ।

उनले क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् ।

उनले यसअघि चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिसमा जारी पारालिम्पिकमा  ऐतिहासिक कास्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पलेशालाई बधाई दिएका हुन् ।

Categorized in स्पाेर्ट्स
SKIP THIS buddhan jayanti 2082