पलेशालाई महानगरको ५ लाख नगदसहित सम्मान
SamacharDesk | २०८१ भाद्र १९, बुधबार

काठमाडौं महानगरपालिकाले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक जित्ने पलेशा गोवर्धलाई पाँच लाख नगदसहित सम्मान गरेको छ ।
बुधबार विहान नेपाल आइपुगेका पलेशालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुदप्रेमीलगायतले स्वागत गरेका थिए ।
स्वदेश फिर्तापश्चात उनलाई काठमाडौं महानगरपालिकाले एक कार्यक्रमकाबीच उनलाई उनलाई सम्मान गरेको हो । महानगरले पलेशाको प्रशिक्षक कविराज नेगी लामालाई पनि तीन लाख रुपियाँबाट सम्मान गरेको छ ।
पलेशा र प्रशिक्षकलाई महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसीलगायतले सम्मान गरेका थिए ।
पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जित्नुभएको थियो । पलेशाको यो ऐतिहासिक जितसँगै ओलम्पिकमा नेपालले पनि खाता खोलेको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।
शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रमकाबिच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उँचो पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताउनुभयो ।
Categorized in स्थानीय