पंचदान पर्व मनाइयो
SamacharDesk | २०८० भाद्र २६, मंगलबार

आज काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा पञ्चदान पर्व मनाइयो ।
गुँला पर्व गुंलागा त्रयोदशी तिथिमा काठमाडौं लगायत भक्तपुर, थिमि, बनेपा, साँखु, पनौती लगायतका स्थानमा यस पर्व मनाउने गरिन्छ ।
यो पर्वलाई दान दिवसको रुपमा समेत लिने गरिन्छ। पाँच प्रकारको अन्नलाई दान गरिने हुँदा यस पर्वलाई पञ्चदान (पञ्ज्राँ) भन्ने गरिन्छ ।
यो दान पाँचवटा बुद्धलाई गरिने दान हुँदा पनि पञ्चदान (पञ्ज्राँ) भनिएको पाइन्छ । पाँच प्रकारका बस्तुमा अन्न (चामल, धान, गँहु , जौ आदि), गेडागुडी , फलफूल , सख्खर पानी (सर्बत) र औषधी पर्दछन् ।
यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाएर चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई पंचदान बाहेक नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गर्ने गरिन्छ ।
आज काठमाडौंको स्वयम्भूमा दान दिने र लिनेको ठूलो भीड लाग्यो । पञ्चदानमा दान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।
आजकै दिन महाबौद्धबाट १ सय २० जना भिक्षुहरु भिक्षाटन गर्दै स्वयम्भूको भगवानपाउस्थित भुइखेल पुग्ने गर्दछन् । बौद्ध धर्ममा दानको धेरै प्रकार रहेका छन्, संघदा, पञ्चदान, सम्यक दान, नवदान आदि ।
बौद्ध पर्व अनुसार नेवारहरुले गुंलागाः साउन कृष्णपक्ष त्रयोदशीका दिन हरेक वर्ष पंचदान पर्व मनाउँदै आएका छन् ।
पञ्चदानलाई पंजरा पनि भन्ने गर्दछ । यस दिन शाक्य, बज्राचार्यहरुले दान गाथा वाचन गर्दै दान दिनेहरुको आयु आरोग्य, धन, सन्तान, प्रज्ञा वृद्धि होस् भनी आर्शिवाद दिने चलन रहेको छ ।
Categorized in संस्कृति