arin enterprises

जेष्ठ पुर्णिमाको अवसरमा शाक्य महाविहार संघको पंचदान

SamacharDesk – विजयरत्न | २०७९ आषाढ १, बुधबार

जेष्ठ शुक्ल पुर्णिमाको दिनको नेवाः समुदायमा ठुलो महत्त्व छ । चन्द्रमानको गणना अनुसार वर्षको सबैभन्दा लामो दिन मानिने यस दिनलाई नेवार समुदायले ज्याःपुन्हि भन्ने गर्छन् ।

बौद्ध धर्मावलम्बीहरुले भने जेष्ठ पुर्णिमाको दिनलाई भगवान गौतम बुद्धले कपिलवस्तुमा गई युद्धको दुर्गुण बताउँदै धर्मदेशना गरेको दिनको रुपमा लिने गर्छन् । त्यसैले बौद्ध धर्मावलम्बीहरु पनि यस दिनलाई एक विशेष र पवित्र दिनको रुपमा लिएर दानधर्म गर्ने गर्दछन् ।

यसै क्रममा शाक्य महाविहार संघले पन्चदान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार काठमाडौंको नघलस्थित श्रीघः विहारमा आयोजित कार्यक्रममा पंचबुद्धको प्रतिकको रुपमा श्रद्धेय स्थवीर थायपा आजुहरुलाई पंचदान दिइएको संघका महासचिव संघरत्न शाक्यले जानकारी दिए ।

श्रीगणेश व श्रीभैरवको समुपस्थितिमा पंचदान दिइएको थियो । कार्यक्रममा लायकू कुमारी भनिने वसन्तपुरकी श्री कुमारीलाईसमेत दान प्रदानको क्रममा भाग चढाइएको थियो ।

काठमाडौंका शाक्यहरुको प्रवज्याभिषेक गरिने दश बहालका पाँच/पाँच जना गरी जम्मा ५० जना थायपा अथवा बहालका प्रतिनिधिलाई बज्रयानी विधिविधान अनुसार पचदान दिइएको थियो ।

शाक्यहरुको संघलाई संगठीत रुपमा अगाडी बढाउँदै आफ्नो परम्परागत बज्रयानी विधिलाई चीर स्थायित्व दिनका लागि यस प्रकारको कार्यक्रमले ठुलो सहयोग पुग्ने संघका अध्यक्ष शुभकाजी शाक्यको भनाई रहेको छ ।

Categorized in संस्कृति
SKIP THIS Maharjan Complex