arin enterprises

हिजो आजका कुराले दर्शकको मन जित्ने पन्तको दावी

SamacharDesk – बिराज | २०७९ आश्विन २७, बिहिबार

‘हिजो आजका कुरा द मुभि’ का निर्देशक साकार पन्तले राम्रो फिल्म बनेमा साउथ वा बलिउड चलचित्रको अगाडी नेपाली फिल्मले पनि बजार लिने दावी गरेका छन् ।

हिजो आजका कुरा द मुभिको प्रिमियरकै दिन बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै निर्देशक तथा कलाकार पन्तले यस्तो दावी गरेका छन् ।

पन्तले पछिल्ला केही नेपाली फिल्मले राम्रो बजार लिएको र यसबाट राम्रो बनेमा नेपाली फिल्म हेर्न दर्शक हलसम्म आउँछन् भनेर प्रमाणित भएको बताए ।

‘साउथ वा बलिउड फिल्म भनेर नेपाली फिल्मले कुनै डर लिनुपर्ने अवस्था छैन । मुख्य कुरा फिल्म राम्रो बन्नुपर्यो, नेपाली दर्शकले नेपाली फिल्म हेर्नेछन्’ पन्तले भने ।

आफ्नो टीमले हिजो आजको कुरा द मुभि एउटा राम्रो फिल्म बनाएको दावी गर्दै दर्शकले फिल्म मन पराउनेमा आफु विश्वस्त रहेको बताए ।

हिजो आजका कुरा टिभिको सिरियलको स्वादलाई जीवन्त राख्दै सिरियलभन्दा बिलकुल फरक ढङ्गबाट मूभि बनाएको पन्तको भनाई हो ।

‘टिभिमा सिरियल हेर्दा पाइने स्वादलाई मुभिमा मैले जीवन्त राख्न कोशिश गरेको छु । तर हलमा पुगेर टिभि सिरियल नै हेरेको जस्तो लाग्नेछैन । प्रस्तुति विलकुलै फरक छ’ पन्तले भने ।

वरिष्ठ कलाकार सन्तोष पन्तले हिजो आजका कुरा भनेको आम सर्वसाधारणको दैनिक जीवन भएको बताए । आम सर्वसाधारणले दैनिक जीवनमा जे भोगिरहेका छन् त्यहि भोगाईलाई हिजो आजका कुराले प्रस्तुत गर्ने पन्तको भनाई हो ।

‘मैले टिभिमा हिजो आजका कुरा सुरु गर्दा समाजमा देखिएका भोगाई, विकृति, घटनालाई नै प्लट बनाएँ । द मुभिमा पनि तपाईँले हाम्रै समाजलाई देख्नुहुनेछ, आफुलाई नै पाउनुहुनेछ’ पन्तको भनाई हो ।

आफ्नै छोराको निर्देशनमा मूभि खेल्दा गर्व लागेको पनि पन्तले बताए । कार्यक्रममा चलचित्रका कलाकार सविन शाक्य, ब्याकग्राउन्ड स्कोरर भुपेन्द्र बज्राचार्य, डिओपी रवि सायमिले लगायतले आआफ्नो अनुभव सुनाएका थिए ।

विगतमा नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको टेलि सिरियल हिजो आजका कुरालाई नै चलचित्रको रुपमा ‘हिजो आजका कुरा द मुभि’ निर्माण गरिएको हो ।

चलचित्रमा टेलिसिरियलका पुरानै कलाकारहरु रमा थपलिया, सबिन शाक्य, मंजु श्रेष्ठ लगायतकाे पनि भूमिका रहेकाे छ ।

त्यस्तै चर्चित कलाकारहरु जयनन्द लामा, लक्ष्मी भुषाल, निरन्जन अर्याल, रमेश अधिकारी, कमला रेग्मी, रिचा शर्मा, रिमा बिश्वकर्मा, दिव्यदेव पन्त, केकि अधिकारी, साकार पन्त, अनुष्का अधिकारी, जेविका कार्की, विनायक कुइकेल आदिको भूमिका रहेको छ ।

पन्त फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको प्रिमियर कलाकार, पत्रकारको साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितीमा बुधबार सम्पन्न भएको छ । चलचित्रको रिलिज भने देशैभरीमा आउँदो असोज २८ गते शुक्रबारबाट हुन लागेको छ ।

Categorized in पेजथ्री