arin enterprises

पत्रकार दबूबाट काठमाडौं महानगरपालिकाको कदमको स्वागत

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र २, सोमबार

स्थानीय विषय अन्तर्गत नेपालभाषा माध्यमको पाठ्यक्रम जारी भएसँगै काठमाडौं महानगरपालिकाको यस कदमको चारैतिर स्वागत गरिँदैछ ।

यसै क्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले पनि कक्षा १ देखि ४ सम्म स्थानीय विषय पठनपाठनका लागि ‘येँ देय् म्हसीके’ सार्वजनिक गरेकोमा काठमाडौं महानगरपालिकालाई धन्यवाद व्यक्त गरेको छ ।

दबूले प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय विषयको पाठ्यक्रम विकास गर्न योगदान दिने सबैलाई पनि धन्यवाद दिएको छ ।

दबूका अध्यक्ष सुरजबीर बज्राचार्यले जारी गरेको विज्ञप्तीमा नेपालभाषाका चार खम्बामध्ये एक मास्टर जगतसुन्दर मल्लको सपना आज साकार भएको अनुभव समाजले गरिरहेको बताएको छ ।

काठमाडौं महानगरपालिकाको यस कदमले भाषाको विकासका साथै नेपालभाषा क्षेत्रमा रोजगारीको समेत अवसर श्रृजना गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कक्षा ५ देखि ८ सम्मको पाठ्यक्रम पनि सक्दो चाँडो जारी गर्न पनि दबूले आग्रह गरेको छ ।

Categorized in समाज