नेवाः पत्रकारको सहयोगमा पत्रकार दबू सक्रिय
SamacharDesk – बिराज | २०७८ जेठ ३१, सोमबार

कोभिड महामारीको अवस्थामा नेवाः पत्रकारहरुको सहयोगको लागि नेवाः पत्रकार राष्ट्रिय दबू सक्रिय भएको छ ।
नेवाः पत्रकार दबूले निषेधाज्ञा जारी रहेको अवस्थामा समस्यामा परेका नेवाः पत्रकारको सहयोगको लागि केन्द्रीय समिति अन्तर्गत कोभिड रेस्पोन्स टिम बनाएर सहयोगको कामलाई अगागी बढाएको हो ।
हाल पत्रकार दबूको जिल्ला शाखामार्फत विभिन्न जिल्लामा नेवाः पत्रकारहरुको स्थिती बुझ्दै गरेको रेस्पोन्स टिमका संयोजक र दबूको केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अवस्थामा आर्थिक समस्यामा परेका नेवाः पत्रकारलाई खाद्यान्न लगायतका सहयोग गर्ने र संक्रमण भएको अवस्थामा आवश्यक सहयोग र समन्वय गरिदिने योजना रहेको संयोजक श्रेष्ठले बताउनुभयो ।
समाचारडेस्कको आर्थिक पक्ष सम्वन्धि जिज्ञासाको उत्तरमा श्रेष्ठले केही रकम दबूसँग भएकै रकमबाट सहयोगको शुरुवात गरेको र अहिले विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरुबाट समेत उत्साहजनक रुपमा सहयोग प्राप्त भएको बताउनुभयो ।
‘नेवाः पत्रकारहरुप्रति सदासयता देखाउँदै हामीलाई विभिन्न क्षेत्रबाट निरन्तर सहयोग प्राप्त भइरहेको छ, ६ दिन जतिमै हाम्रो कोषमा करीब साढे २ लाख रुपैयाँ जम्मा भइसकेको छ’ श्रेष्ठले जानकारी दिनुभयो ।
महामारीको अवस्थामा दबूमा आवद्ध पत्रकारहरुलाई सहयोगको लागि बनाइएको यसै कोषलाई पछि गएर स्वास्थ्य सहयोग कोषको रुपमा निरन्तर गर्ने योजना पनि श्रेष्ठले सुनाउनुभयो ।
Categorized in समाज