‘पीसीआर भनेको औषधी होइन’ – शाक्य
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण २४, शनिबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको यो अवस्थामा हामी आफै सचेत नहुने हो भने सरकारले चाहेर पनि कोरोना नियन्त्रण गर्न नसकिने बताउनु भएको छ ।
काठमाडौंको श्रीघःस्थित धर्मकीर्ति विहारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुुहुँदै कामपा प्रमुख शाक्यले संक्रमण नियन्त्रण गर्न सर्वसाधारण पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
लकडाउनको बेलामा पनि जहाँ छ त्यहिँ बस्नु भन्दाभन्दै उपत्यका छिर्न दिएन भनी आलोचना गरेको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘पछिल्लो समय धेरै मान्छेहरू उपत्यका छिर्न थालेपछि थप समस्या आयो। भित्र आए पछि कोरोना झन् फैलियो,’ मेयर शाक्यले भन्नुभयो, ‘सरकारले जे गर्दा पनि सडकमा जुलुस आइहाल्छ । जुलुस निस्क्यो भने जुलुस सँगसँगै कोरोना पनि निस्कन सक्छ भनेर हामी सचेत हुनुपर्छ ।’
अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुप¥यो भनी आवाज उठिरहेकोमा पनि टिप्पणी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण नै रोगको उपचार नभएको स्पष्ट पार्नुभयो ।
पीसीआरले उपचार गर्ने नभई यसले अहिले तत्कालको अवस्था मात्रै बताउने भन्दै मेयर शाक्यले पिसिआर परिक्षण गर्नुप¥यो भनेर अनसन बसेर हुलमुल गरिँदा यसबाटै कोरोना बढेर जाने सम्भावना औंल्याउनुभयो ।
‘पीसीआर गर्दा प्रति व्यक्ति दश हजार जति खर्च पर्न आउँछ । पीसीआर गर्दा चाहिने जम्मै सामान विदेशबाट ल्याउनु पर्छ,’ मेयर शाक्यको भनाई थियो । ‘अहिले यहाँ पीसीआर गरेर हामी कतै गयौँ भनेर त्यहाँ कुनै संक्रमित भेटिए फेरि कोरोना सरि नै सकेको हुन सक्छ ।’
काठमाडौं महानगरपालिका वडा नम्बर २५ को श्रीघःस्थित धर्मकीर्ति विहारमा वौद्ध परियति शिक्षाका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै शाक्यले कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पु¥याउँदै आएको स्मरण गराउनुभयो ।
मेयर शाक्यले काठमाडौं नगरभित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको वज्रयान महाविहार, जनबहाल (सेतो मत्स्येन्द्रनाथ)को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी पनि दिनुभयो ।
काठमाडौं महानगरपालिकाले उक्त विहारलाई वौद्ध परियति शिक्षाका लागि पाँच लाख सहयोग गरेको थियो ।
Categorized in स्थानीय