‘प्रधानमन्त्रीको रवैयाले जनता लज्जित भए’
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७७ माघ ७, बुधबार

जनता समाजवादी पार्टी (जसपा) की नेतृ हिसिला यमिले १० वर्षको जनयुद्धपछि जनताबाट बनेको संविधानलाई मिच्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप लगाएकि छन् । संसद विघटनको विरोधमा आज जसपाबाट काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै नेतृ यमिले प्रधानमन्त्रीलाई ओलीलाई यस्तो आरोप लगाएकी हुन् ।
१० वर्षको जनयुद्धपछि संविधान सभामार्फत जनताबाट बनेको संविधानमा प्रधानमन्त्रीले सजिलै संसद विघटन गर्न नसकिने प्रावधान हुँदाहुँदै ओलीले संविधानलाई मिच्दै संसद विघटन गरेको यमिको आरोप हो ।
‘१० वर्षको जनयुद्धपछि संविधान सभा गठन भई सभाबाट बल्ल संविधान बनेको छ, १० वर्षको संघर्षपछि जन्मेको शिशु बामे सर्न नपाउँदै तुहाउने काम भयो’ यमिको भनाई हो ।
नेवाः राष्ट्रिय समितिका अध्यक्ष मनरत्न शाक्यले ओलीलाई पछिल्लो राजनीतिक उपलब्धीप्रति कुनै चासो र चाहना नभएको दावी गर्नुभयो । ओली गणतन्त्र र धर्म निरपेक्षतासमेतको विरोधी रहेको शाक्यको भनाई हो ।
जसपा काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले प्रधानमन्त्री ओली तानाशाही र प्रतिगामी व्यक्ति भएको विचार पोखे ।
‘संसद विघटन गर्नु तानाशाही प्रधानमन्त्री ओलीको असंवैधानिक कदम हो, प्रधानमन्त्रीले यो कदम नसच्याएसम्म हामी निरन्तर यसविरुद्ध लागिरहने छौं’ जिल्ला अध्यक्ष प्रजापतिले भने ।
कालो पोशाक र कालै नकाबमा विरोध र्याली
सभाभन्दा अघि संसद पुनस्र्थापनाको माग गर्दै विरोध र्याली निकालिएको थियो । कालो पोशाकको साथमा कालै नकाब लगाएको समूहसहित निस्किएको र्यालीले संसद विघटनविरुद्ध नारा लगाउँदै काठमाडौंको विभिन्न स्थानको परिक्रमा गरेको थियो ।
प्रदर्शनकारीहरुले प्रधानमन्त्रीको असंवैधानिक र लज्जास्पद कदमको विरोधमा कालो पोशाक लगाएको र लाजको प्रतिकको रुपमा अनुहार छोपेको जिल्ला अध्यक्ष प्रजापतिले बताए ।
‘प्रधानमन्त्रीको लज्जास्पद कदम देखेर जनता नै लज्जित भएका छन्, त्यसैले लाजले हामीले नि मुख छोपेका हौं,’ प्रजापतिको भनाई हो, ‘खइ, प्रधानमन्त्रीलाई भने अहिलेसम्म लज्जाबोध भएनछ ।’
जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको विरोध कार्यक्रमको क्रममा आज देशभरका ७७ जिल्लाभर विरोध सभा सम्पन्न गरेको हो । यसैक्रममा काठमाडौंको शान्ति वाटिकामा विरोध कार्यक्रम गरिएको हो ।
Categorized in राजनीति