arin enterprises

विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० बैशाख ६, बुधबार

विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेका छ ।

पोर्चुगल पठाईदिने भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने टिका बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ पाखरटोलका २३ वर्षीय भण्डारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले वैदेशिक रोजगारीको लागि पोर्चुगलमा राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी प्रलोभनमा पारी १० जना पीडितहरूबाट १५ लाख रूपैयाँ ठगी गरेको आरोप लागेको छ ।

त्यसैगरी अमेरिका लगायतका देशहरूमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

खड्काले वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानका प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिने, भनी २० जनाबाट ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेको बताइएको छ ।

अनुसन्धानको क्रममा खड्काले मासिक ४ लाख तलब हुने भन्दै प्रलोभनमा पारी २० जना पीडितहरूबाट पटकपटक गरी उक्त रकम उठाएको देखिएको प्रहरीले जनाएको छ ।

भण्डारी र खड्का दुबैलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

भण्डारीलाई काठमाडौंको ताहाचलबाट र खड्कालाई रौतहट चन्द्रपुर नगरपालिका–४ चपुरबाट पक्राउ गरिएको हो ।

दुबैलाई थप अनुसन्धान र कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको प्रहरीले जनाएको छ ।

Categorized in अपराध
SKIP THIS maharjan complex bumper adv