arin enterprises

बौद्ध विद्वान फनिन्द्ररत्नलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

SamacharDesk – बिराज | २०७९ मङ्सिर २६, सोमबार

वर्ल्ड बज्राचार्य अवार्डको दोश्रो संस्करणमा बौद्ध विद्वान फनिन्द्ररत्न बज्राचार्य लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुँदैछन् ।

आउँदो पुष २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने कार्यक्रममा बौद्ध विद्वान बज्राचार्यलाई अवार्डबाट सम्मान गर्न लागिएको हो । बौद्ध धर्म, संस्कारको क्षेत्रमा लामो समयदेखि अनवरतमा रुपमा दिँदै आएको योगदानको कदर स्वरुप बज्राचार्यलाई सम्मान गर्न लागिएको आयोजक बज्राचार्य क्लबले जनाएको छ ।

त्यस्तै, बौद्ध सम्पदा संरक्षण, जिर्णोद्धार साथै पुनर्निर्माण र बुद्ध शिक्षा प्रचार प्रसारमा विशिष्ट योगदान पु¥याएको भन्दै काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यलाई विशेष सम्मानबाट सम्मानित गर्न लागिएको छ ।

साथमा शैक्षिक क्षेत्रमा सय बढि बज्राचार्यहरु अवार्डबाट पुरस्कृत हुँदैछन् । विशेष गरी शैक्षिक क्षेत्रमा केन्द्रीत हुँदै बज्राचार्य समुदायमा वितरण गरिँदै आएको अवार्डमा यस पटक सय भन्दा बढि विद्यार्थीहरु पुरस्कृत हुन लागिएको कार्यक्रम संयोजक शैलेन्द्रमान बज्राचार्यले बताउनुभयो ।

विश्वका विभिन्न कुनाकाप्चामा बसोबास गरेर बसेका पाँच सय बढिले अवार्डका लागि आफ्नो नाम दर्ता गराएका थिए ।

अवार्ड कार्यक्रममा एस.ई.ई. देखि स्नातकोत्तर तहसम्म हरेक संकायको हरेक विधामा उच्च अङ्क ल्याइ उत्तीर्ण हुने बज्राचार्यहरु अवार्डबाट पुरस्कृत हुनेछन् । यसैगरी, पि. एचडी. पूरा गरेका, नेपालभाषा र बुद्धिष्ट विषयमा उत्तीर्ण भएका हरेक विद्यार्थीलाई अवार्ड प्रदान गरिनेछ ।

बौद्ध सम्पदा र शिक्षाप्रति युवा पुस्तामा जागरण ल्याउने उद्देश्यले अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको संयोकज शैलेन्दैले बताए ।

क्लबका अध्यक्ष सर्जु बज्राचार्यले यो अवार्ड शैक्षिक क्षेत्रमा केन्द्रीत रहेको र भविष्यमा विभिन्न क्षेत्रमा योगदान दिनेहरुको सम्मानको लागि अलग अलग कार्यक्रमको आयोजना गर्ने योजना रहेको पनि सुनाए ।

‘अहिले हामी शैक्षिक क्षेत्रमा केन्द्रीत छौं, भविष्यमा बज्राचार्य स्पोर्ट्स अवार्ड, बज्राचार्य बिजनेस अवार्ड आदि पनि गर्ने हाम्रो योजना छ’ अध्यक्ष सर्जुले बताए ।

प्रत्यके दुई वर्षमा आयोजना गर्ने भनिएको अवार्डको पहिलो संस्करण सन् २०१९ मा भएको थियो भने दोश्रो संस्करण कोभिड महामारीका कारण तीन वर्षपछि मात्र हुन लागेको आयोजक संस्थाले जनाएको छ ।

Categorized in समाज