हात गुमाउदा पनि साहस नगुमाएका खेलाडि– क्यारोली टाक्कस्
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ माघ ९, सोमबार

भनिन्छ नि, यदि केहि गरी देखाउने एउटा अठोटले दृढ संकल्पकै रुप लिए कुनै पनि काम जति बाधा आएपनि पुरा गर्न सकिन्छ ।
समाजमा बुढापाकाहरुका मुखबाट सुनिँदै आएको यस भनाईलाई पुष्टि गर्ने थुप्रै उदाहरण हामीले हाम्रै वरपर पनि भेट्टाउन सकिन्छ ।
यस किसिमका कयौं पात्रहरु समाजका लागि एउटा आदर्श, प्रेरणाको स्रोत नै बन्न सफल भएका छन् । यस्तै एक पात्र हुन् हंगेरीका पिस्टोल शुटर क्यारोली टाक्कस् ।
सुटिङ जगतमा आफ्नो दायाँ हातले सुट गर्दै हरेक उपाधी जित्दै गएका टाक्कसले एउटा दुर्घटनामा परी आफ्नो दायाँ हात नै गुमाउन पुगे । तर उनको साहस गुमेन, उनको संकल्प गुमेन ।
दायाँ हात गुमेपछि पिस्टोल शुटिङ्गको लागि बाँया हातलाई तयार गरी ओलम्पीकमा दुई पटक स्वर्ण जितेरै देखाए ।
यो उनको साहस, उनको आत्मविश्वास, उनको दृढ संकल्पको नतिजा हो भनेर भन्नैपर्ने हुन्छ ।
क्यारोली टाक्कस्को जन्म सन् १९१० जनवरी २३ मा अर्थात आजकै दिन हंगेरीको बुडापेस्टमा भएको थियो । उनी सानैदेखि सेनामा भर्ती हुन चाहान्थे ।
आफ्नो पढाई पूरा गरेपछि टाक्कस हंगेरीयन सेनामा भर्ती भए ।यो पल जुन उनको लागी निकै खुशीको पल थियो । उनको बाल्यकालदेखिको सपना साकार भएको थियो ।
क्यारोली आर्मीमा हुँदा शूट गर्न निकै रमाउँथे र घण्टौंसम्म शुटिङ्गको अभ्यास गरिरहन्थे ।
क्यारोलीले सन् १९३८ मा हंगेरीमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका थिए । उक्त प्रतियोगितामा सजिलै सबै शुटिंग प्रतियोगिताहरू जिते ।
त्यसपछि उनी देशको महान पिस्टोल निशानेबाजको रूपमा चिनिन थालेका थिए ।
राष्ट्रिय खेलकुद प्रतियोगिता जितेपछि सन् १९४० मा हुन लागेको ओलम्पीकको तयारीमा उनी रातोदिन जुटे ।
सबैको विश्वाश थियो ‘यस ओलम्पिकमा त पिस्टोल शूटिङ्ग प्रतियोगीतामा क्यारोलीले नै देशलाई पदक जिताउने छन् ।
तर आर्मी क्याम्पमा अचानक एउटा ठूलो दुर्घटना भयो, जुन घटनाले सम्पूर्ण देशको आशा क्षणभरमै निराशामा बदलिदियो ।
अभ्यासको क्रममा टाक्कसको दाहिने हातमा ह्याण्ड ग्रेनेड विस्फोट भयो र उनले आफ्नो दाँया हात गुमाउनुपर्याे ।
टाक्कसले त्यहि हात गुमाएका थिए, जसवाट उनले निशाना लगाएर राष्ट्रिय प्रतियोगीता जितेका थिए ।
आफ्नो हात नै गुमेपछि को निराश नहोला र ? टाक्कस् पनि दुःखी त भए नै, तर उनले हार भने मानेनन् । ओलम्पिकमा स्वर्ण जित्ने उत्साहले उनको आत्मविश्वासलाई भने हार्न दिएन ।
दाँया हात गुमाएपछि उनले बायाँ हातबाट अभ्यास गर्न थाले । तर नजिकिँदै गरेको ओलम्पिकमा पदक नै जित्नको लागि तुरन्तै बायाँ हातलाई तयारी गर्नु सहज भने थिएन ।
त्यो हात जसबाट उनले राम्रोसँग खान पनि सक्दैन थिए, त्यही हातलाई एक बर्षमा शुटिङ्गको लागि तयार गर्नु थियो ।
यस समयमा उनले धेरै कठिनाइ र पीडाहरुको सामना गर्नुपर्यो तर, ओलम्पिकमा स्वर्ण जित्ने दृढ संकल्प थियो उनमा ।
रातदिन नभनी, भोकप्यास नभनी बायाँ हातबाट अभ्यास गर्दै एक बर्षमा बायाँ हातलाई तयार पारे ।
सन् १९३८ मा हंगेरीमा फेरी राष्ट्रिय खेलकुद प्रतियोगिता भयो । उक्त प्रतियोगितामा आफ्नो बाँया हातले त्यहाँ उपस्थित सबै खेलाडिहरुलाई हराउँदै नयाँ इतिहास रचे र पूनः १९४० को ओलम्पिकको लागि अभ्यास गर्न थाले ।
तर सन् १९३९ वाट दोस्रो विश्व युद्ध सुरु भएपछि सन् १९४० को ओलम्पिक रद्द भयो ।
त्यसपछि उनले सन् १९४४ मा हुने ओलम्पिकको लागि तयारी गर्न थाले । सन् १९४४ को ओलम्पीक पनि दोस्रो विश्व युद्धको कारण रद्द भयो ।
उमेर बढ्दै गइरहेको थियो । उमेरले बुढ्यौली छोएर शरीरले साथ नदिए पनि उनको साहस भने जवान नै थियो ।
दोस्रो विश्व युद्धपछि सन् १९४८ मा ओलम्पिकको आयोजना गरियो । सो ओलम्पिकमा उनको बर्षौंदेखिको तपस्या सफल हुन पुग्यो ।
उनले त्यहाँ उपस्थित सबै युवा प्रतियोगीहरुलाई हराएर स्वर्ण पदक हात पारे । त्यस्तै सन् १९५२ को ओलम्पिकमा पनि भाग लिँदै स्वर्ण पदक आफ्नो नाममा गरे ।
क्यारोली टाक्कस् दुई पटक लगातार ओलम्पीकमा स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् ।
१९५८ मा भएको आइएस्एस्एफ वल्र्ड शुटिङ्ग च्याम्पियनशीपमा कास्य पदक पनि जिते ।
न शरीरले उनलाई हराउन सक्यो, न उमेरले उनलाई बसाउन सक्यो । निरन्तर अघि बढिरहे र धेरैको लागि प्रेरणाका एक पात्र बने ।
यसरी नै अघि बढ्दै सन् १९७६ जनवरी ५ को दिनमा महान खेलाडी क्यारोली टाक्कस् यो संसारबाट बिदा भए ।
शरीर नस्वर हो, टाक्कसको पनि शरीर त मरेर गयो, तर उनको साहस आज पनि धेरैको लागि प्रेरणाको स्रोत बनेर आजसम्म जिवित नै छ ।
हातखुट्टा अथवा भनौं शारीरिक रुपमा सपाङ्ग भएपनि कतिले काममा वा नतिजामा कारण खोज्छन् । त्यस किसिमका कारण भनेको मात्र बहाना हो ।
नतिजाको लागि दृढ संकल्पसाथ लाग्ने हो भने असम्भव केही छैन । यहि कुरालाई प्रमाणित गरेका पात्र हुन् टाक्कस ।
Categorized in स्पाेर्ट्स