महानायक राजेश हमालबाट इलेक्ट्रिसियन प्लम्बर तालीम शुरु
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ चैत्र २४, मंगलबार

आज फर्पिङवासी निकै उत्साहित देखिन्थे । सबैको मुहारको चमक नै बेग्लै थियो । आज दक्षिणकाली नगरपालिका फर्पिङमा नेपाली चलचित्रका महानायक राजेश हमाल आएका थिए । महानायकसँग फोटो खिच्नेहरुको तँछाडमछाड नै भएको थियो ।
महानायक फर्पिङ पुगेका थिए, फर्पिङवासीको खुसि यतिमात्रै थिएन । महानायकको फर्पिङसँग त ऐतिहासिक सम्वन्ध नै गाँसिएको छ । महानायकले आफ्नो पहिलो चलचित्र युगदेखि युगसम्ममै फर्पिङसँग साइनो गाँसिसकेका थिए । युगदेखि युगसम्मको छायाङ्कन फर्पिङमा पनि भएको थियो । आफ्नो पहिलो चलचित्र सुटिङ भएको ठाउँमा पुग्दा राजेश पनि खुसी देखिन्थे ।
आज भने राजेश कुनै फिल्मको सुटिङको लागि नभई, दक्षिणकाली नगरपालिकावासीको लागि आयोजना गरिएको शीपमूलक तालिमको उद्घाटनको लागि पुगेका थिए ।
सफा सुनौलो नेपालसँगको सहकार्यमा चाइना फाउन्डेसन फर पभर्टि एलिभिएसनको आर्थिक सहयोगमा फर्पिङमा आजबाट ३ महिने प्लम्बर र इलेक्ट्रिसियन तालीम शुरु भएको छ ।
फर्पिङमा आयोजना गरिएको एक कार्यक्रममा संघीय सांसद राजन केसीको साथमा महानायक हमाल र चाइना फाउन्डेसनका नेपाल डाइरेक्टर झाउ छियाङले संयुक्त रुपमा तालीमको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै महानायक हमालले सीप भएका व्यक्तिहरु कहिल्यै बेरोजगार बस्नुनपर्ने बताउनुभयो । ‘जुन व्यक्तिमा दक्षता छ, त्यो व्यक्ति आफ्नो क्षेत्रको हिरो हो, तपाईँहरु पनि सीप सिकेर हिरो बन्नुस्, समयसँगै आफ्नो सीपलाई विकास गर्दै आफ्नो हिरोइज्म देखाउनुस्’ महानायक हमालले भने ।
त्यस्तै संघीय सांसद केसीले तालीम लिएर प्रमाण पत्र मात्र लिने भए केही अर्थ नरहने बताउँदै तालीमबाट सिकेका सीपलाई व्यवहारमा लागू गर्दै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।
प्रशिक्षार्थीहरुलाई तालीम पश्चात सिटिइभिटिमार्फत परिक्षा लिइ परिक्षामा उत्तीर्ण भएकालाई रोजगार समेत दिइने आयोजकले जनाएको छ । परिक्षामा उत्तीर्ण प्रशिक्षार्थीहरुलाई नवरत्न टेक्निकल इन्स्टिच्यूटमार्फत रोजगारको ग्यारेन्टी गरिएको बताइएको छ ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन वस्नेतले विगतमा नगरभित्र भएका विकास निर्माणका काममा स्थानीय जनशक्ति नहुँदा बाहिर जिल्लाबाट माग गर्नुपरेको अवस्थाको स्मरण गर्दै यस किसिमका तालीम पछि दक्षिणकाली नगरपालिकाले पनि बाहिर जिल्लामा जनशक्ति उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
चाइना फाउन्डेसनका नेपाल डाइरेक्टर झाउ छियाङले विगत ५ वर्षदेखि नेपालमै बसेर संस्थामार्फत विभिन्न किसिमले नेपाली समाजमा सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।
चाइना फाउन्डेसनले ७२ सालमा भूकम्पको समयमा पनि नेपाललाई विभिन्न किसिमले सहयोग गरेको थियो भने लकडाउनको समयमा पनि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई राहत उपलब्ध गराउनुका साथै ब्याग, किताब लगायतका शैक्षिक सामग्रीहरु सहयोग गरेको थियो ।
युवा लक्षित तालीमको पहिलो चरणमा ४० जना युवाहरुको सहभागीता रहने जनाइएको छ । फाउन्डेसनले यस अघि सन् २०१९ मा नवलपरासी र पोखरामा सय बढि युवाहरुलाई इलेक्ट्रिसियन र प्लम्बर तालीम दिइसकेको छ । ३ वर्षमा ३ सय युवाहरुलाई तालीम दिने लक्ष्य फाउन्डेसनले लिएको छ ।
झाउले संस्थाले ५ वर्षदेखि नेपालमा संचालन गर्दै आएका कार्यक्रम र गतिविधिहरुबारे जानकारीमूलक भिडियो प्रस्तुति पनि कार्यक्रममा राखेकी थिइन् ।
कार्यक्रममा वागमती प्रदेश सांसद पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायतले तालीमको सफलताको शुभकामनासहित आआफ्नो मन्तव्य राखेका थिए ।
Categorized in समाज