गठबन्धन तोड्नुपर्ने मुख्य कारण कांग्रेस : प्रम दाहाल
SamacharDesk – Ram Dangol | २०८० फाल्गुण २४, बिहिबार

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोड्नुको कारण कांग्रेसलाई दोष दिएको छ ।
प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै दाहालले नेपाली कांग्रेसकै कारण सत्ता सहयात्रा तोड्नु परेको तर्क गर्नुभएको छ । उहाँले कांग्रेस महासमितिको बैठकले पारित गरेको प्रस्तावकै कारण सत्ता समीकरण तोड्नु परेको बताउनुभयो ।
कांग्रेस महासमिति वैठकले माओवादी जनयुद्धको दानवीकरण गरेको, २०४७ सालको संविधानलाई सही सावित गर्न खोजेको, हिन्दू राष्ट्रको मुद्धा जोडदार रुपमा उठेको र आगामी चुनावमा कुनै पनि दलसंग गठबन्धन नगर्ने निर्णय गरेका कारण आफू गठबन्धन फेर्न बाध्य भएको उहाँको तर्क थियो ।
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका नेताहरुसंग ब्यक्तिगत रुपमा राम्रो सम्बन्ध रहे पनि कांग्रेस पार्टीबाट सरकारले पाउनु पर्ने सहयोग नपाएको आरोप पनि लगाउनुभयो ।
आफू तेस्रो पटक प्रधानमन्त्री बनेर फोटो झुण्ड्याउन मात्रै नआएको भन्दै उहाँले देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताउनुभएको छ ।
संसदमा उठेका महत्त्वपूर्ण विषयमा बिहीबार जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताउनुभयो ।
नयाँ सत्ता समीकरण जोखिमपूर्ण नरहेको बोध दुई दिनमै भएको दाबी गर्दै प्रधानमन्त्री दाहालले अब सरकार परिणाममुखी हुने र विश्वासको मत लिने बेलासम्म त्यसलाई प्रमाणित गरिसक्ने जिकीर गर्नुभयो ।
आउँदा दिनमा सरकारका काम र परिणामबाटै आफू आत्मकेन्द्रीत होइन भन्ने प्रमाणित गर्ने उहाँको प्रतिबद्धता थियो ।
Categorized in राजनीति