प्रधानमन्त्री दाहालले दिए सांसदहरुको जवाफ
SamacharDesk | २०८० जेठ ४, बिहिबार

प्रधानमन्त्री पुष्पकमल दाहालले तात्कालीन माओवादी शिविरमा कुनै अनियमिमिताको पुष्टि भए जेल जान तयार रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा आजबाट सुरु प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले राखेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले लडाकूलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप राजनीतिक पूर्वाग्रहबाट आएको टिप्पणी गर्नुभयो ।
उहाँले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न आफू तयार रहेको भन्दै क्यान्टोनमेन्टको विषयमा छानबिन गरेर दोषी ठहरिए जेल जान तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले नागरिकता विधेयक एक महिनाभित्र टुंगो लाग्ने दावी गर्नुभयो ।
नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउने वा राष्ट्रपति कार्यालयमा नै होल्डमा रहेको विधेयक प्रमाणीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।
परराष्ट्रनीति र सीमाना सम्बन्धमा सांसदहरुले सोधको प्रश्नमा प्रधानमन्त्री दाहालले नेपालले अपनाउँदै आएको परराष्ट्र नीतिलाई निरन्तरता दिएको र हाम्रो एक इन्च जमिन पनि नछोड्न र छिमेकीको एक इन्च जमिन नचाहिने विषयमा सरकार स्पष्ट रहेको बताउनुभयो ।
बिहीवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको सांगठनिक ठगी अपराध भएको टिप्पणी गर्दै संलग्न कसैलाई पनि उम्किन नदिने दृढता व्यक्त गर्नुभयो ।
भीआईपी÷भीभीआईपीहरू पनि पक्राउ परिरहेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले घटनामा सरकारले कुनै आग्रह र पूर्वाग्रह नलिइ निष्पक्ष, तटस्थ छानबिन गर्ने बताउनुभयो ।
प्रश्नोत्तर कार्यक्रममा दरबार हत्याकाण्ड र मदन–आश्रित घटनाको सम्बन्धमा सांसद प्रभु साहले राखेको प्रश्नमा प्रधानमन्त्री दाहालले गौर हत्याकाण्डसहित दरबार हत्याकाण्ड र मदन–आश्रित घटना लगायत इतिहासमा भएका ठूल्ठूला हत्याकाण्डको छानविन नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा रहेको स्पष्ट गर्नुभयो ।
प्रश्नोत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यताका विषयमा गरेको प्रश्नमा प्रधानमन्त्री दाहालले आफ्नो हकमा त्यो बाध्यता नरहेको बताउनुभयो ।
Categorized in राजनीति