बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड
SamacharDesk – बिराज | २०७९ फाल्गुण ८, सोमबार

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्नेमा जोड दिएका छन् ।
सोमबार पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए, पनि ती शक्तिहरू फेरी एक ठाउँ उभिन आवश्यक छ ।’
राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्ने बताउँदै राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिए ।
दुई महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशन दिँदै सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्गता भएकाहरुको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गर्ने उनले बताए ।
समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेको बताउँदै प्रचण्डले भने ‘देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहन्छ । केही पार्टीहरूसँग एकताको निम्तिसमेत गृहकार्य भइरहेको छ । छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’
सो अवसरमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा सुधार ल्याउन सरकारले गम्भीर पहल गरेको र सुधार पनि आएको दावी गरे ।
Categorized in राजनीति