arin enterprises

प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ माघ २९, मंगलबार

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याउने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक झिल्के थापालाई सम्मानित गरिएको थियो ।

आज (मंगलबार) प्रतिष्ठानमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अवकाश प्राप्त प्रहरी नायव निरीक्षक थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरे ।

प्रभावकारी रूपमा प्रशिक्षण संचालन गरी दक्ष र व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्‍याएको भन्दै मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईलाई पनि सम्मान गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले समुन्नत र सुरक्षित समाजको निर्माण गर्न सक्ने योग्य जनशक्ति उत्पादनमा समर्पित प्रतिष्ठानको योगदान सर्‍हानीय रहेको विचार राखे ।

‘संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न व्यावसायिक तवरले प्रशिक्षित जनशक्तिद्वारा स्वःस्फूर्त रूपमा प्रदर्शित हुने निःस्वार्थ सेवा भाव र कर्तव्य बोधद्वारा प्रेरित कामकारबाहीबाट मात्र सम्भव हुन्छ । त्यसैले समय, समाज र संगठनको आवश्यकता अनुसारको जनशक्ति उत्पादन प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख ध्येय हुनुपर्छ’ कुवँरको भनाई हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा–२०८१’ को लोकार्पणको साथमा प्रतिष्ठान गीत समेत सार्वजनिक गरेका थिए ।

समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल र वहुआयामिक जिम्मेवारी बहन गर्न योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न गतिशील रहँदै आएको बताए ।

प्रतिष्ठानले प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधार तथा प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको गिरीको भनाई हो ।

प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार केसीले प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Categorized in समाज