कामपा नीति तथा कार्यक्रम २, मूर्त अमूर्त संस्कृति सम्पदाको संरक्षणमा कामपाको जोड
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ ४, बिहिबार

काठमाडौँ महानगरपालिकाले ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका टोल, बस्ती, मठ, मन्दिर, बहाल बही, चुक÷ननि, लाछि जस्ता मूर्त तथा रितीरिवाज, भाषा, लिपी, संस्कृति, जात्रा, परम्परा जस्ता अमूर्त सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्ने नीति लिएको छ ।
आज कामपाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र रहेका मूर्त अमूर्त सम्पदाहरुको ऐतिहासिक, धार्मिक, साँस्कृतिक बिवरण सहितको तथ्याङ्क संकलन तथा डिजिटल अभिलेखिकरण गर्ने कार्य प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विभिन्न धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान तथा सम्पदाहरुको मौलिक एवं प्राचीन नामहरुको खोजी गरी पुनस्र्थापना गर्ने भनिएको छ ।
साथै आधिकारिक नामाकरण हुन बाँकी टोल, सडक, मार्ग, चोक आदिको नामाकरण गर्नुपर्दा महानगरपालिकाको स्वीकृति अनिवार्य लिनुपर्ने ब्यबस्था पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाः बही लगायतका साँस्कृतिक सम्पदा क्षेत्र तथा सम्पदा मार्गहरुको बृहत्तर विकास योजना बनाई क्रमबद्ध कार्यान्वयन गर्ने बताइएको छ ।
विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रभित्रको भण्डारखाल परिसरको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँग आवश्यक सहकार्य गर्ने नीति कामपाले लिएको छ ।
साथै हाँडीगाउँको लिच्छवीकालिन सभ्यताको साथै काठमाडौंको ऐतिहासिक तथा साँस्कृतिक सेतो मच्छिन्द्रनाथको जात्राबारे पनि विस्तृत अनुसन्धान गरी दस्तावेज प्रकाशन गर्ने जस्ता नीति पनि महानगरपालिकाले लिएको छ ।
‘काठमाडौं महानगरको इतिहास, संस्कृति, मौलिक परम्परा समेटी तस्बीर, चित्रकथा, श्रव्यदृश्य सामाग्री निर्माण गरिनेछ । साथै विभिन्न स्थानहरुमा कलात्मक मूर्ति प्रतिस्थापन तथा भित्ते चित्र राखिनेछ,’ नीति तथा कार्यक्रममै उल्लेख छ ।
काठमाडौं महानगरभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष योगदान गरेका परम्परागत बाजाहरु सिकाउने गुरुहरुको योगदानको कदर गर्दै विशेष सुविधा सहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।
महिला सचेतना तथा क्षमता विकास कार्यक्रमलाई प्राथमिकतामा राखी सञ्चालन गर्न महानगरीय महिला सहजीकरण केन्द्र स्थापना गर्ने, समुदायमा आधारित सामाजिक गुम्बाको सञ्चालन गरी सत्मार्गमा लाग्न जनमानसलाई प्रेरित गर्ने प्रमुख लामाहरुलाई सम्मान गर्ने जस्ता नीतिलाई पनि प्राथमिकतामा राखेको छ ।
काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न
महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण कार्य यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
नीति तथा कार्यक्रम अनुसार हनुमानढोका दरबार क्षेत्रमा अवस्थित महादेव पार्वती मन्दिर तथा कुमारी घरको जीर्णोद्वार यसै बर्ष शुरु गरिनेछ ।
काठमाडौं उपत्यकाको सम्पदाको रुपमा रहेको बागमती, विष्णुमती, धोबीखोला, सामाखुशी, ईच्छुमति, मनोहरा लगायतका नदीनालाहरुलाई अतिक्रमण मुक्त गरी सफा र सुन्दर बनाइनेछ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नदीनालाको सरसफाई र संरक्षणको उचित व्यवस्था गरी नदीलाई मानव सभ्यता र सौन्दर्यतासँग आबद्ध गरिनेछ ।
त्रिपुरेश्वरदेखि टेकुसम्मको वागमती किनारालाई श्री हुतराम बैद्य स्मृति पैदलमार्गको रुपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
साथै पचली कालोपुलदेखि टेकु दोभानसम्मको नदी किनारालाई श्री भगवानदास मानन्धर स्मृति स्थलको रुपमा विकास गरिनेछ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरु स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गर्ने, हनुमानढोका परिसर तथा कोत क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयन गर्ने पनि महानगरपालिकाको नीति छ ।
Categorized in स्थानीय