arin enterprises

विवादित अभिव्यक्तिबारे प्रधानमन्त्रीले दिए जवाफ

SamacharDesk | २०८० आषाढ २६, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादास्पद अभिव्यक्ति दिनु आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीमा कुरा गरेको भन्ने अभिव्यक्ति भावनामा आएर दिएको बताउनुभएको हो ।

उहाँले आफ्नो छोरी ज्ञानु दाहाल बिरामी हुँदा दिल्लीमा प्रितम सिंहको घरमा बसेर उपचार गराएको र छोरी भेट्न आफू जाँदा सिंहले आफुलाई प्रधानमन्त्री बनेको देख्न चाहाने शुभेच्छा राखेको कुरा मात्र आफूले केही दिन अघिको सार्वजनिक कार्यक्रममा राखेको स्पष्ट पार्नुभयो ।

१८ असारमा सरदार प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन उनी (प्रितम) धेरैचोटी दिल्ली गएको’ अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री दाहालले आफूले सो कुरा नभनेको भएपनि हुने भन्दै आत्मआलोचना समेत गर्नुभयो । उहाँले आफ्नो भावनात्मक अभिव्यक्ति राष्ट्रप्रति नै घात हुने खालको नभएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सो कुरा प्रधानमन्त्रीको हैसियतमा नबोलेको भएपनि हुने कुरा आफूले स्वीकार गरेको बताउनुभयो ।

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रचण्डको राजीनामा माग्दै संघीय संसदको दुबै सदन अवरुद्ध गर्दै आएको थियो । यससँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले २० असारदेखि गर्दै आएको संसद अवरोध हटाएको छ ।

Categorized in राजनीति