निष्पक्ष र धाँधलीरहित चुनाव गर्न सरकारलाई नेता सिंहको माग
SamacharDesk | २०७९ भाद्र १०, शुक्रबार

शुक्रबार काठमाडौंमा मङ्गलादेवी सिंहको २७ औं स्मृति दिवस मनाइयो ।
स्मृति दिवसलाई सम्बोधन गनुहुँदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।
उहाँले यस अघिका निर्वाचन पनि नेपाली कांग्रेसले इमानदारीपूर्ण गरेको र अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार रहेकाले धाँधलीरहित निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने उहाँको भनाइ छ ।
नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो । आगामी दिनमा नेपाली कांग्रेस आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा लाग्ने जानकारी उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भयो, नयाँ संविधानलाई कार्यान्वयन गर्ने समयमा आदेश कम्युनिष्टहरुले पाएको कारण नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानुन निर्माण गर्न सकेनन् ।
सङ्घीय कानुन, समयमा नबनाइ दिएको कारणले सङ्घीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महसुस गर्ने गरेर काम गर्नुपर्नेमा ठाउँमा संसदलाई दुई–दुई पटक भङ्ग गरेको कारणले सङ्घीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेका छौँ ।’’
नेता सिंहले राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभइ मतदानको अधिकार दिलाउन पनि मङ्गलादेवी सिंहले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँको स्मरण गर्नुभयो ।
Categorized in राजनीति