arin enterprises

उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल

SamacharDesk | २०८१ बैशाख १, शनिबार

नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ ।

पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राख्नुभयो ।

नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्ण लगत्तै विदेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरिकलाई तातोपानी एक गिलास खुवाउने कोही नहुने स्थिति आउनेतर्फ सचेत गराउँदै सांसद सुवालले भन्नुभयो, “विदेश पठाइएकाहरूको जीवन पनि सुखी भइरहेको छैन । कतिपय ठगीमा परेका छन् । बिदेसिएका नेपालीहरूको दैनिक ५–१० वटा लास नेपाल फिर्ता भइरहेको तर्फ सजग हुनु आवश्यक छ ।”

सांसद सुवालले दुई सय वर्षअघि नै रुसमा १५ वर्षका नयाँ पुस्तालाई पाँच ओटा भाषामा पोख्त बनाइएको जानकारी दिँदै नेपाल सरकारले चाहेमा हामीले पनि गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा स्वार्गिय लोचना मल्लको सम्झनामा नातिनी समृद्धि मल्ल र नाति लक्ष्यजित मल्लले दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारको छात्रवृत्ति प्रदान गरिएको थियो ।

भक्तपुरको बाल मन्दिर स्कुलकी प्रअ समेत रहनुभएकी आफ्नी हजुरआमा लोचना मल्लको सम्झनामा आफूहरूले आगामी दिनमा पनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरूलाई नेपालमा प्रचलित नोटहरूको प्रदर्शनी समेत गरिएको थियो ।

नेपालमा कस्ता नोटहरू प्रचलनमा आए ०  अङ्क देखि १० लाख नम्बर सम्मका दुर्लभ नोटहरूको विषयमा विद्यार्थी तथा अभिभावकलाई ज्ञान दिने हेतुले उक्त प्रदर्शनी आयोजना गरिएको थियो ।

नेपालको पैसा सबैले देखेका छन् तर पुरानो पैसा एकै किसिमका नम्बरका पैसा तथा ० अङ्कका नोट साथै नोटको पुस्तान्तरणका विषयमा नेपालीहरू अनविज्ञ नै छन् यस्तो अनविज्ञतालाई चिर्न साथै नेपाली पैसाको महत्व दर्साउन नोटहरु प्रदर्शनीमा राखेको नोट प्रदर्शनीमा उपस्थित मन्जित मल्लले बताउनुभयो ।

Categorized in समाज