arin enterprises

पञ्चाभिषेक रूद्री समापनको तयारी पूरा

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ श्रावण २३, सोमबार

पञ्चाभिषेक रूद्री समापन समारोह आयोजना गर्नका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था राजोपाध्याय समाजले जनाएको छ । समाजले विज्ञप्ती जारी गर्दै भोलि हुन गइरहेको पञ्चाभिषेक रूद्री समापन समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

समाजले एक वर्षसम्म महिनाको एक पटक गर्दै उपत्यकाका तीनै शहरमा पाँच जना राजोपाध्याय देव ब्राह्मणहरुबाट एकै दिन एकै समय पञ्चाभिषेक रूद्रीको आयोजना गरेको थियो । गत २०७८ श्रावण १२ गतेबाट शुरु गरिएको यस कार्यक्रममा गत असार ११ गते १२ औं पटकको रूद्राभिषेक सम्पन्न भएको थियो ।

१२ औं पटकको कार्यक्रम सम्पन्न भएसँगै भोलि श्रावण २४ गते समाजले भव्य धार्मिक अनुष्ठानको आयोजना गर्दैै पंचाभिषेक रूद्रीको औपचारिक समापन गर्न लागेको हो ।

पंचाभिषेक रूद्री समापन समारोहमा राजोपाध्याय देव ब्राह्मणहरु ११ जनाबाट लघु रूद्राभिषेक, ९ जनाबाट नवचण्डीका साथै शिव पञ्चाङ्ग र दश हजार संख्याको अयुताहुती यज्ञसमेत गरिन लागेको छ ।

कोरोना महामारीबाट मुक्तिको कामनासहित गरिन लागेको यस अनुष्ठानमा सबैको सकारात्मक उर्जा र स्तोत्र, मन्त्र, वेद पाठको सकारात्मक उर्जाले नकारात्मक भाइरसको अन्त्य हुने विश्वास समाजले लिएको छ ।

समापन समारोहको लागि करीब ८ लाख रुपैयाँको लागत अनुमान गरिएकोमा विभिन्न व्यक्ति, संघसंस्थाको विभिन्न किसिमको सहयोगका कारण कार्यक्रम आयोजना गर्न सहज भएको भन्दै समाजले स्थानीय महादेव मखन क्लब लगायत सम्पूर्ण सहयोगीलाई धन्यवाद ज्ञापन गरेको छ ।

Categorized in संस्कृति