arin enterprises

कर्मचारीतन्त्रको मारमा संस्कृतिः जात्रापर्वमा सरकारी संयन्त्रको भूमिकामाथि प्रश्न

SamacharDesk – आभास धरानन्द राजोपाध्याय | २०७९ पौष २७, बुधबार

----- १) -----

गत शुक्रबार चाँगुनारायणको कलशयात्राको प्रसङ्गबाट सुरु गरौँ — परम्परागत रूपमै यसपटक पनि राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले चाँगुनारायण, लक्ष्मी र सरस्वतीको कलशको दर्शन गरी फूल तथा टीकाप्रसाद ग्रहण गरिन् ।

चाँगुनारायणका पुजारी र भँडेलसँगै पुरातत्त्व विभाग, हनुमानढोका दरबार सङ्ग्रहालयलगायतबाट प्रतिनिधिहरू राष्ट्रपति कार्यालयमा पुगेका थियौँ । राष्ट्रपतिले कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूलप्रसाद ग्रहण गरी सामूहिक तस्बिरका लागि बोलाइन् ।

पुजारी पक्षसँग तस्बिर खिचेपछि कर्मचारी पक्ष पनि सामूहिक तस्बिरका लागि उपस्थित भए । अफिसकै औपचारिक पोशाकमा आएका कर्मचारी वर्गलाई राष्ट्रपति भण्डारीले भनिन्, “तपाईँहरू जुत्ता लगाएर यहाँ आउनुभयो, मैले त आफ्नो जुत्ता अघि नै उता खोलिसकेँ ।”

राष्ट्रपतिसँग तस्बिरमा सँगै देखिन अघि सरेका कर्मचारी पक्षले देवता दर्शन गर्दा जुत्ता खोल्नुपर्ने सामान्य सभ्यताको पनि हेक्का राखेनन् ।

हुन त राष्ट्रपति भण्डारीले आफै पनि पहिलेका वर्षहरूमा यही कार्यक्रममा जुत्ता खोलेका थिएनन् । “यो मेरो घरमै लगाउने जुत्ता हो” भन्दै उनले जुत्ता लगाएरै चाँगुनारायणको दर्शन गरेकी थिइन् ।

सुरुका वर्षमा यसरी चाँगुदेखि हिँडेर ‘दुःख गरेर’ नआए हुन्थ्यो भन्ने किसिमले बोलेका राष्ट्रपति भण्डारी कार्यकालको अन्तिमतिर भने निकै विनम्र भई आफ्नो राष्ट्रपतिकालमा चाँगुनारायण दर्शन गर्न आउन नसकेको बताइन् ।

यसअघिका राष्ट्रपति डा. रामवरण यादव भने सांस्कृतिक शिष्टाचार र आस्थामा प्रखर थिए । संस्कृति मन्त्रालयका सचिवलाई उनले एकपटक जुत्ता नखोली कलश दर्शन गर्न लागेकोमा शिष्ट रूपमा हप्काएका थिए ।

----- २) -----

सोही दिनको अर्को प्रसङ्ग — काठमाडौँको हनुमानढोकाभित्र चाँगुनारायणको कलशयात्रालाई भित्र्याउने तयारी हुँदै थियो । उपराष्ट्रपति यसपटक उक्त कलशयात्राको दर्शन गर्न हनुमानढोकामा आए । उनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी भने भीड नगराउन भनी सबैलाई पन्छाउँदै थिए ।

सुरक्षाको दृष्टिले यो स्वाभाविक हो तर प्रसङ्ग र रीतिरिवाज नबुझ्दा सुरक्षाकर्मीले उल्टै संस्कृतिलाई मास्न खोजेको देखियो ।

तलेजु अगाडिको सिँह ढोकामा कलशको दर्शन गर्न आउने भक्तजनलाई सुरक्षाकर्मीले रोके, समाचार सङ्कलनका लागि आएका फोटो तथा भिडियो पत्रकारहरूलाई पनि रोके र अझ तलेजुका तर्फबाट कलश यात्रालाई लसकुस गरी भित्र्याउने भुजाहारीलाई पनि रोक्न खोजे ।

तलेजुको द्वारमा प्रत्यक्ष देवी कुमारीको आगमनपछि भीड नियन्त्रणको नाममा उपराष्ट्रपतिका सुरक्षाकर्मीले चाँदीका कलशको सुरक्षाका लागि चाँगुनारायणदेखि सँगै आएका बर्दीकै प्रहरीहरूलाई समेत “तपाईँहरू यो पोशाकमा यहाँसम्म आउन पाउनुहुन्न” भन्दै बाहिर पठाउन खोजे ।

उपराष्ट्रपतिको उपस्थितिले जात्राको गरिमा बढाउँछ नै तर, हस्तक्षेपपूर्ण उपस्थितिले सामान्य भक्तजनलाई असुविधा पर्नेबारे जनताबीचबाटै गएका प्रतिनिधिहरूले पनि हेक्का राख्नुपर्छ

त्यस्तै, ती सुरक्षाकर्मीले कलश बोकेका पुजारी र भँडेलसँगै रहेका सहयोगीहरूलाई समेत बाहिर पठाउन खोजेका थिए, जब कि हनुमानढोका भित्र कलश पूजामा चाहिने नरिवल र चाँगुको टीका–प्रसाद सहयोगीसँगै हुन्छ ।

यस अघिका यात्राहरूमा यस्तो समस्या खासै थिएन ।

सांस्कृतिक कार्यक्रममा आउँदा सुरक्षाकर्मीले के हुँदै छ वा हुन लागिरहेको छ भन्ने पनि थाहा नहुनु र जात्रापर्वमा सहभागी हुँदा सुरक्षाका नाममा उल्टै अप्ठेरो सिर्जना गर्नुले जात्रापर्वको गरिमाप्रति सरकारी संयन्त्रको उदासीनता झन् उदाङ्गो पार्छ ।

उपराष्ट्रपतिको उपस्थितिले जात्राको गरिमा बढाउँछ नै तर, हस्तक्षेपपूर्ण उपस्थितिले सामान्य भक्तजनलाई असुविधा पर्नेबारे जनताबीचबाटै गएका प्रतिनिधिहरूले पनि हेक्का राख्नुपर्छ ।

----- ३) -----

जात्रापर्व मनाउन समय लाग्छ नै तर, अझै पनि कर्मचारीतन्त्र ‘ठूलाबडा’लाई रिझाउन पर्वलाई नियन्त्रण गर्न खोज्छन् ।

कलशयात्राकै प्रसङ्ग जोडौँ — राष्ट्रपति कार्यालयबाट दिएको समयमा कलश यात्रा राष्ट्रपतिसमक्ष लग्न पुजारीलाई निर्देशन दिइन्छ, ‘गुरु ! सर्ट–कटमा पूजा सकौँ ।’

चाँगुनारायणबाट कलश यात्रा आरम्भ गर्नु अघिका पनि विधिविधान छन्, पैदलयात्राका दौरान पनि केही नियमको पालना गर्नुपर्छ भने काठमाडौँ सहर पस्दा पनि पूजाका विधान छन् । ती सबैका लागि केही समय त लाग्छ नै, जुन कर्मचारीको निर्देशनमा चल्दैन ।

कार्यालय समय सकेपछि घर फर्कन हतार हुनेजस्तो प्रवृत्तिले संस्कृति चल्दैन किनकि यो प्रत्यक्ष रूपमा जनतासँग पनि सम्बद्ध हुन्छ ।

‘ठूलाबडा’ राष्ट्रप्रमुखकहाँ पुग्नअघिसम्म त ढिलो हुँदैन तर त्यहाँबाट फर्केपछि चाँगुनारायणसम्म फर्काउने जिम्मा लिएको पुरातत्त्व विभागका कर्मचारीलाई प्रायः सधैँ हतार हुन्छ । उनीहरूलाई यति पनि हेक्का हुँदैन कि कलश बोकेर आएकाहरू दिनभर भोकै र चाँगुदेखि काठमाडौँसम्म हिँडेर आएका छन् ।

खाना खुवाउने व्यवस्था गरुञ्जेल पनि धैर्य हुँदैन, अब यो ‘ठूलाबडा’को काम होइन, हनुमानढोकाबाट २२ किलोमिटर टाढा चाँगु डाँडा जाने पुजारीपक्षको काम हो ।

— — — — — — — — —

सबै कर्मचारी यस्तै हुन्छन् भन्न खोजेको चाहिँ होइन तर यो प्रवृत्ति कर्मचारीतन्त्रमा व्याप्त छ । गत पौष शुक्ल पूर्णिमाका दिनको चाँगुनारायण कलश यात्रा धेरैमध्ये एउटा उदाहरण मात्र हो ।

पुरातत्त्व, गुठी संस्थानजस्ता सरकारी संयन्त्रसँग जोडिने यस्ता धेरै जात्रामात्रा, पर्वपूजाहरूका समस्या अझै यस्तै र कतै योभन्दा दुःखद् छ ।

सरकारी संयन्त्र र अझ बढीजसो कर्मचारीतन्त्रले अपनत्व नलिएको यस्ता जात्रापर्वको भूमिकामा ती संस्थाहरू अझै नसुध्रिनुले जनताको सांस्कृतिक अधिकार नै कुण्ठित पारेको देखिन्छ ।

(लेखक चाँगुनारायण मन्दिरका पूजारी हुन् ।)

Categorized in बिचार
SKIP THIS maharjan complex bumper adv