arin enterprises

प्रधानमन्त्रीको निर्णय निर्वाचन आचार संहित विपरित - श्रेष्ठ

SamacharDesk – बिराज | २०७९ आश्विन २७, बिहिबार

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र प्रसाद श्रेष्ठले वर्तमान सरकारले मन्त्रीमण्डलमा मन्त्रीहरु हटाउन नमिल्ने दावी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेपछि समाचारडेक्ससँग कुरा गर्दै नेता श्रेष्ठले यस्तो भनेका हुन् ।

निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा वर्तमान सरकार काम चलाउ मात्र भएको र यसले ठुला निर्णयहरु गर्न नमिल्ने श्रेष्ठको भनाई थियो ।

‘अहिलेको सरकारले निर्वाचन सम्पन्न गराउनका लागि मात्र काम गर्ने हो, ठुलठुला निर्णय यसले गर्न पाउँदैन । मन्त्रीमण्डलमा मन्त्रीहरु बर्खास्त गर्नु भनेको त ठुलै निर्णय भयो, जुन अहिलेको सरकारले गर्नु आचार संहिता विपरित हुन जान्छ’ श्रेष्ठले भने ।

त्यस्तै संविधानको  धारा ७६ (२) अनुसार गठित गठबन्धन सरकारले समर्थन फिर्ता नलिएको दलका नेताहरुलाई मन्त्रीमण्डलबाट हटाउन नमिल्ने पनि श्रेष्ठले ठोकुवा गरे ।

जसपाले अहिलेसम्म सरकारलाई समर्थन फिर्ता नलिएको र निर्वाचनको लागि मात्र भनेर एमालेसँग तालमेल गर्यो भनेर मन्त्रीहरु हटाउने निर्णय गलत भएको उनको भनाई थियो ।

‘हामीले नेकपा एमालेसँग चुनावी तालमेल मात्र गरेका हौं तर, सरकारलाई समर्थन फिर्ता लिएका त छैनौं । अनि चुनावी तालमेलको विषयलाई लिएर सरकारले यत्रो ठुलो निर्णय गर्न मिल्छ त ?’ श्रेष्ठले प्रश्न तेर्साए ।

प्रधानमन्त्रीको यो निर्णयको असर प्रदेश सरकारहरुमा पनि पर्न सक्ने भन्दै श्रेष्ठले प्रधानमन्त्रीको यो निर्णय अपरिपक्व र अदुरदर्शि भएको श्रेष्ठले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मात्र जसपाबाट सरकारमा सहभागी भएका चार जना मन्त्रीहरुलाई बरखास्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, कृषि तथा पशुपंछि विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई मन्त्री पदबाट बरखास्त गरेका हुन् । 

Categorized in राजनीति