चीन र नेपालको पारम्परिक सम्बन्ध बलियो बनाउने उद्घोष
SamacharDesk – बिराज | २०७९ चैत्र २८, मंगलबार

नेपालका लागि चिनियाँ दूतावासका उपप्रमुख वा वाङ्गसीनले नेपाल र चीनको सात वटै नाका खुलाएर दुई देशबीचको पारम्परिक सम्बन्ध र सहयोगलाई थप निरन्तरता दिने उद्घोष गरेका छन् ।
अरनिको समाजले महालक्ष्मी उद्योग वाणिज्य संघसंग मिलेर ललितपुरको लुभूमा सञ्चालन गरेको बृहत निःशुल्क स्वास्थ्य शिविरको शनिबार उद्घाटनका क्रममा उहाँले यस्तो बताएका हुन् ।
उपप्रमुख वाङ्गसीनले अहिले तातोपानी, केरुङ्ग नाका खोलिएसँगै दुई देशबीचको व्यापार, पर्यटन उद्योगमा सरकारात्मक परिर्वतन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
सडकको स्तरोन्निति सकिएपछि अन्य नाकाहरु पनि क्रमशः खोलिने उनले बताए ।
चीनले गरिबी निवारण, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा अभूतपूर्व प्रगति गरेको दाबी गर्दै उपप्रमुख वाङ्गसीनले यसको लाभ नेपाल र नेपालीलाई दिन चीन सधैं तयार रहेको बताए ।
सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्व स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्य, शिक्षा मूलतः राज्यको दायित्व भएपनि निजी क्षेत्र, र कुटनीतिक नियोगले यसमा सघाउँदै आएकोमा प्रशंसा गरे ।
समारोहमा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले स्वास्थ्य शिविरमा चिनियाँ दूतावास र अधिकारीको सहयोगको निरन्तरताको अपेक्षा गर्दै सहकार्यको लागि नगरपालिका तयार रहेको बताउनुभयो ।
अरनिको समाजका अध्यक्ष डा. बालकृष्ण श्रेष्ठ, महालक्ष्मी उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय श्रेष्ठलगायतले आआफ्ना विचार राखेका थिए ।
शिविरमा बालरोग, नाक, कान, घाँटी, स्त्री रोग, हाडजोर्नी, पेट तथा कलेजो, आँखा, दाँत, नशा सम्बन्धी लगायतको परीक्षण गरिएको थियो ।
शिविरबाट हजार बढी मानिसहरु लाभान्वित भएको समाजका कोषाध्यक्ष समेत रहेका डा. सुशील प्रजापतिले जानकारी दिए ।
Categorized in समाज