arin enterprises

जनजातिको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड

SamacharDesk – बिराज | २०८० भाद्र १०, आइतबार

आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापाले जनजाति समुदायको कथ्य ईतिहासलाई लेख्नुपर्नेमा जोड दिएका छन् । आयोगले बिहिवार आयोजना गरेको एक दिने ‘प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम’ कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो भनेका हुन् ।

जनजाति समुदायको परम्परा लेख्य भन्दा कथ्य रहेको र लिखित दस्तावेजहरु नहुँदा इतिहास अध्ययनमा अहिले समस्या भएको उनले भने ।

‘जनजातिको परम्परा भनेको लेख्य भन्दा कथ्य हो, आवश्यकता अनुसार अब जनजाति लेखनमा पनि अगाडी बढ्नुपर्छ । आफ्ना हरेक पक्षको बारेमा लेख्न सक्न र जान्नुपर्छ’ अध्यक्ष थापाको भनाई हो ।

आयोगले आदिवासी जनजाति चलचित्र महासंघमा आवद्ध संस्थाका जनजाति चलचित्रकर्मीहरुको लागि तालिमको आयोजना गरेको हो ।

महासंघको सह आयोजनामा सम्पन्न कार्यक्रममा इन्डिजिनियस टेलिभिजनकर्मी मायालु तामाङले प्रशिक्षण दिएकी थिइन् ।

कार्यक्रममा जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राइले कलाकार, चलचित्रकर्मीहरु औपचारिक लेखनमा कमजोर देखिने गरेकोमा जनजाति चलचित्रकर्मीहरुमा यो समस्या झनै रहेकोले तालिमको आयोजना गरेको जानकारी दिए ।

महासंघका निवर्तमान अध्यक्ष अमृत सुनवार, पूर्व अध्यक्ष प्रतिमाया पुन मगर र संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधरले आदिवासी जनजाति मातृभाषी चलचित्र र प्रस्तावना तथा प्रतिवेदन लेखनका विविध पक्षहरुको चर्चा गरे ।

विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा महासंघका आवद्ध १५ संघसंस्थाबाट ४० जना आदिवासी जनजाति चलचिकर्मीहरुको सहभागीता रहेको थियो ।

Categorized in समाज