बढ्यो सवारी भाडा
SamacharDesk | २०८० भाद्र ७, बिहिबार

पटक पटक इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशमा सवारी भाडा बढेको छ ।
भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको हो ।
वृद्धि भएको भाडा दर विहीबारदेखि लागू हुने गरी मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । अब काठमाडौं उपत्यकाभित्र गुड्ने सार्वजनिक सवारीमा न्यूनतम ५ किलोमिटरसम्मको भाडा १८ रुपैयाँबाट एक रूपैयाँ बढाएर १९ रुपैयाँ पु¥याइएको छ ।
यसैगरी उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।
यस्तै, मन्त्रालयले ट्याक्सी भाडा देखि प्रदेशभित्र चल्ने लामोदूरीका सार्वजनिक सवारीको भाडा पनि बढाएको छ । सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ।
प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशको राजपत्रमा उल्लेख छ। यसैगरी प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ।
काठमाडौं–नारायणगढको बस भाडा ४३३ रुपैयाँ कायम भएको छ। १४६ किलोमिटर दुरीको काठमाडौं–नारायणगढमा यसअघि ४२१ रुपैयाँ भाडा थियो।
काठमाडौं–नारायणगढ–हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ। काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ कायम गरिएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम भएको छ।
काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ। नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ।
काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ।
Categorized in राष्ट्रिय