सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने शाक्यको भनाई
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ भाद्र ३०, बुधबार

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने विचार राखेका छन् ।
मंगलबार वडा १२ मा पुखुसि महादेव मन्दिरको उद्घाटन गर्दै शाक्यले मूर्त सम्पदालाई जीवन्त बनाउन अमूर्त सम्पदासँग र यसको प्रवर्ध्दनका लागि पर्यटनसँग जोड्न जरुरी रहेको बताउनुभयो ।
‘सांस्कृतिक पर्यटनबाट सम्पदा क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने रकम संकलन हुने र स्थानीयको आयमा वृद्धि हुने भएकोले सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्छ’ शाक्यको भनाई हो ।
कार्यक्रममा वडा १२ का अध्यक्ष विकास डंगोल, वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य लगायतले स्थानीय मूर्त अमूर्त संरक्षणमा जोड दिँदै आआफ्नो विचार राखेका थिए ।
मंगलबार उद्घाटन गरिएको उक्त पुखुसि मन्दिर वडाले पुनर्निर्माण गराएको हो । उपाकू, पचली भैरवको जात्रा, गथु प्याखंजस्ता जात्रा र सांस्कृतिक उत्सवहरुमा यो महादेव मन्दिरको परिक्रमा गर्ने चलन छ ।
स्थानीय निरोज खड्गीकाअनुसार ०३९ साल अघिसम्म सडकका किनारामा रहेको शिवलिङ्ग सडक विस्तार भएपछि सडकको विचतिर पर्न गएको हो । पछि मन्दिर बनाएर नन्दीसमेत स्थापना गरी यो महादेव स्थापना गरिएको हो ।
हाल पुखुसि टोल सुधार समितिले मन्दिरको संरक्षण गरिरहेको छ ।
Categorized in संस्कृति